चितवनः चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा बाघ मृत अबस्थामा भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरैबाघ मरेका हुन ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन वटा बाघ मृत भेटिएका थिए भने यस आर्थिक वर्षमा सात वटा बाघ मृत अबस्थामा भेटिएका हुन । मृत भेटिएका बाघहरु सबै प्राकृतिक कारणले मरेका हुन । उहाँका अनुसार मृत भएका बाघ मध्ये अधिकांश एक आपसमा जुधेर मरेका हुन । बाघ एक्लै बस्न रुचाउने जनावार भएकाले बासस्थानको रक्षा र आहाराको खोजिका क्रममा एक आपसमा जुध्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “बाघको संख्या वढ्दा बासस्थानको खोजीमा बढी संख्यामा बाघहरु जुध्ने गरेका छन् ।” अहिले सम्म बुढो भएर र जुधेर मरेका बाघहरु मात्रै भेटिएको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो “चोरी शिकारीबाट र बिरामी भएर बाघ यो वर्ष मरेका छैनन् ।” बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथि छुट्याउन कठिन हुने गरेको उहाँले बताउनुभयो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमीत गर्ने गस्ति बढाए संगै यस वर्ष निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी संख्यामा मृत भेटिएका हुन ।
सन् २०२२ को राष्ट्रिय बाघ गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बयस्क बाघ रहेका छन् । देश भर बाघको संख्या ३५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस !