चितवनः जिल्लामा लगाईएको केरामा केही दिन अघि आएका हावाहुरीले ठूलो क्षती पु¥याएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केहीदिन यता आएको हावाहुरीका कारण जिल्लामा लगाईएको २ हजार ५ सय विगाह क्षेत्रफलको केरामा क्षती पुगेको हो ।
पूर्वी चितवनमा लगाईएको केरामा बढी मात्रामा क्षती पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाईएको केरामा ठूलो क्षती भएको छ ।” जिल्लामा लगाईएको ४० लाख ८७ हजार ५ सय केरामा क्षेती पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षती पुगेको छ ।
संघका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा रु १२ करोड बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । ७० जना व्यवसायीक किसानको केरा पूर्ण रुपमा क्षती भएको छ भने अन्यको आंशिक क्षती भएको उहाँले बताउनुभयो । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उहाँले जानकारी दिनुभयो ।
बिमा गरेका किसानहरुले क्षती भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षती हुने उहाँले बताउनुभयो । जिल्लामा हाल ३ हजार ५ सय विगाहा क्षेत्रफलमा केरा खेती गरिंदै आईएको छ । उहाँका अनुसार यहाँ ७ सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले १६५ जना किसानको केरामा क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क आउने केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।






