चितवन ।  चितवनको खैरहनी नगरपालिकाले विपन्न तथा भूमिहीन किसानहरुलाई जग्गा भाडामा लिएर खेती गर्न अनुदान रकम प्रदान गरेको छ । कृषि उत्पादनमार्फत विपन्न किसानहरुको आर्थिक अवस्था उकास्न सो नगरपालिकाले खेती गर्न तीव्र इच्छा भएका किसानहरुलाई अनुदान प्रदान गरेको हो ।

कृषियोग्य जग्गा नभएका तर कृषि पेसा गर्न चाहने किसानहरुको पहिचान गरी जग्गा भाडामा अनुदान प्रदान गरिएको मेयर शशिकुमार खनियाँले जानकारी दिए । धनाढ्यको जग्गा खेर जाने र गरिबले जग्गा नभएर उत्पादन नै गर्न नपाउने अवस्थाको अन्त्य गर्न उक्त कार्य सुरू गरिएको मेयर खनियाँको भनाइ छ ।

सो नगरपालिकाले विपन्न किसानलाई खेती गर्न जग्गा भाडामा अनुदानका लागि कार्यविधिसमेत बनाएको छ । नगरसभाबाट बजेट विनियोजन गरी कार्यविधि बनाएर तीन वर्षका लागि विपन्न तथा भूमिहीन किसानले जग्गा भाडा लिएबापतको रकम नगरपालिकाले तिरिदिने गरी योजना अघि बढेको मेयर खनियाँले बताए । जग्गा भाडामा पहिलो वर्ष शतप्रतिशत अनुदान, दोस्रो वर्ष ७५ प्रतिशत अनुदान र तेस्रो वर्ष ५० प्रतिशत अनुदान दिइने छ । नगरसभाबाट १० लाख रूपैयाँ विनियोजन गरेको सो नगरपालिकाले चालू आर्थिक वर्षमा ३१ जना किसानलाई दुई कठ्ठादेखि १० कठ्ठासम्मको जग्गा भाडामा अनुदान दिएको छ ।

बिहीबार नगरपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा अनुदान पाउने किसान र नगरपालिकाबीच लिखित सम्झौता भई भुक्तानीका लागि प्रक्रिया अगाडि बढाइएको छ । विपन्न तथा भूमिहीन किसानका लागि प्रतिकठ्ठा बार्षिक दुई हजारका दरले अनुदान रकम प्रदान गरिएको छ । किसानले आफूअनुकूलको जग्गा भाडामा लिने र त्यसको भुक्तानी नगरपालिकाले गर्ने व्यवस्था मिलाइएको छ । जग्गा भाडाको अनुदानका लागि ८० जना किसानमध्ये चालू आर्थिक वर्षका निम्ति ३१ जना छनोटमा परेका हुन् ।

जग्गा नभएका, दुई कठ्ठाभन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसानहरुको पहिचान गरी अनुदान प्रदान गरिएको मेयर खनियाँले बताए । नगरपालिकाबाट जग्गा भाडाका लागि अनुदान पाएका अधिकांश किसानहरुले खाद्य बाली लगाउने बताएका छन् । ‘बिहान–बेलुकाको छाक टार्न समस्या छ’, जग्गा भाडाको अनुदान पाएका सन्तोषबहादुर परियारले भने, ‘सिजनअनुसार धान, तोरी र मकै लगाउने योजना बताइएको छ ।’

१० कठ्ठा जग्गाको भाडाका लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताइन् । ‘खेती गर्ने जग्गा नभएर सबै कुरा किनेर खानु पर्ने अवस्था थियो’, उनले भनिन्, ‘अब बारीमा फलाएर खाने योजना छ ।’
खैरहनीमा विपन्न, मध्यम र व्यावसायिक गरी तीन प्रकारका किसानहरु रहेको भन्दै मेयर खनियाँले विपन्नलाई कृषि पेसामा आबद्ध गराउने, मध्यम किसानलाई उकास्ने र व्यावसायिक किसानलाई अनुदानमार्फत उत्पादन बढाउने गरी काम गरिरहेको बताए । गत वर्ष मकैमा अनुदान दिएको सो नगरपालिकाले चालू आर्थिक वर्षमा नगदे बालीको रुपमा प्याजखेतीमा कठ्ठाको तीन हजारका दरले अनुदान प्रदान गरेको छ ।

उपमेयर कविता उप्रेतीले विपन्न तथा भूमिहीन किसानलाई कृषि उत्पादनसँग जोड्न जग्गा भाडामा अनुदान कार्यक्रम ल्याइएको बताइन् । ‘जग्गा भएकाहरुको काम गर्ने मान्छे नभएर बाँझो छ, केही नहुने किसानहरुले खेती गर्न पाउनुभएको छैन’, उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका किसानहरुलाई कृषि उत्पादनसँग जोडेर आम्दानीको स्रोत बनाउन कार्यक्रम ल्याएका हौँ ।’

खैरहनीमा ५४ प्रतिशत मान्छे कृषि पेसामा आबद्ध छन् । सो नगरपालिकाले कृषि र पशुपालनमार्फत किसानको जीवनस्तर उकास्ने गरी अनुदानका कार्यक्रम ल्याएको छ । सिंचाइका लागि डिप बोरिङ, स्यालो बोरिङ र नहर मर्मतको काम गरेको छ । त्यसका लागि चालू आर्थिक वर्षमा एक करोड ७४ लाख रूपैयाँ लगानी गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले बताए । कृषि उत्पादन बढाउन अनुदानसँगै खेत–खेतमै कृषि प्राविधिक सेवा प्रदान गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !