चितवन: जिल्लाका पर्यटकीयस्थलहरुमा ठूलो लगानीमा महङ्गा होटल खुलेसँगै विदेशी खर्चालु पर्यटक आउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि खर्चालु पर्यटक अन्य देशतर्फ लागेका थिए । यहाँ ठूलो लगानीमा महङ्गा होटल खुलेसँगै त्यस्ता पर्यटकको आगमन पुनः बढ्न थालेको हो ।

यस्ता होटलहरुले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिईरहेका छन् । निकुञ्जभित्र प्रकृतिसँग रम्नका लागि खर्च गर्न सक्ने पर्यटकहरुले बस्ने ठाउँ त्यही अनुसारको खोजी गर्ने गर्दथे । निकुञ्जका होटल बन्द भएपति त्यस्ता पर्यटक अफ्रिका, भारत, बंगलादेश लगायतका देशहरुमा जान थालेको बताईन्छ । निकुञ्जभित्रका सात वटा होटल बन्द भएपछि खर्चिला पर्यटक अन्यत्र जान थालेका हुन् ।

निकुञ्ज स्थापना हुनु अघि नै खुलेको टाईगर टप्स होटल समेत अहिले पनि बन्द छ । पछिल्लो समय सौराहा नजिकै खैरहनीको हर्नरीमा होटल सिद्धार्थ भिलासा वनवास सञ्चालनमा आएको छ । होटल छिर्दै गर्दा निकुञ्जभित्रकै झल्को दिने गरी निर्माण गरिएको छ । होटलका महाप्रबन्धक प्रकाश न्यौपाने निकुञ्जभित्रको अनुभूति दिलाउने भएकाले खर्चिला पर्यटक आएको बताउनुहुन्छ । उहाँको भनाईमा दुई रातको एक जना पर्यटकको २५० अमेरिकी डलर तिर्ने गरी पर्यटक आउने गरेका छन् ।

होटलमा आउने पर्यटक मध्ये आधाभन्दा बढी विदेशी छन् । अमेरिका, जर्मन, क्यानडा, अस्टे«ेलिया, चीन, भारत लगायतका देशबाट खर्चिला पर्यटक आउने गरेको उहाँले सुनाउनुभयो ।

वरिपरी जंगलले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । निकुञ्जको तीन विगाहा १० कठ्ठा क्षेत्रफलमा विभिन्न ४० भन्दा बढी प्रजातिका रुखविरुवा रहेका छन् । रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभास हुन्छ । होटल वरिपरि मध्यवर्ती सामुदायिक वन क्षेत्र भएकाले होटलको रेष्टुरेन्टबाट गैडा, मृग लगायतका जंगली जनावर चर्दै गरेको समेत देख्न पाईन्छ ।

विभिन्न प्रजातिका रुखविरुवाका कारण ती रुखहरुमा रमाउन एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेको न्यौपाने बताउनुहुन्छ । यो होटल गएको दशैंदेखि सञ्चालनमा ल्याईएको हो । होटलमा रु.४५ करोडभन्दा बढी लगानी रहेको छ । जहाँ नेपाली एक जोडीको एक रात बस्न र ब्रेकफस्ट सहित रु.१० हजार पर्दछ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भित्रका सुविधासम्पन्न होटल नहुँदै गर्दा अन्य देश गएका पर्यटकहरु विस्तारै यहाँ आउन थालेको बताउनुहुन्छ । प्रकृतिमा रम्न चाहने पर्यटकका लागि बसाई पनि त्यही अनुसारको हुँदा धेरै रमाउने गरेको उहाँको भनाई छ ।

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा.विश्व सुवेदी ठूला होटल खुलेसँगै खर्चिला पर्यटक आउन थालेको बताउनुहुन्छ । निकुञ्जभित्रका होटल बन्द हुँदै गर्दा सफारीका लागि अन्य देश जाने गरेका पर्यटक समेत यहाँ त्यही अनुसारका होटल खुलेपछि आउन थालेको उहाँ बताउनुहुन्छ । चौधरी समूहका मेघौली सेराई, बाराई, सोल्टी लगायतका सुविधा सम्पन्न होटलका कारण पनि खर्चिला पर्यटक आउन थालेको उहाँको भनाई छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाईरहेको छ । स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचार भएका कारण पनि खर्चिला पर्यटक आउन थालेको सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !