चितवन: अण्डाको मूल्य बढेपछि उत्साहित बनेका कुखुरापालक किसानहरु चर्काे गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमि आएसँगै अण्डाको लागत मूल्य बढेको हो ।

नेपाल भेटेनरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष डा.दिपक तिवारी यो समयमा कुखुराले दाना पानी कम खाने र कमजोर हुने हुँदा रोगको समस्या समेत बढ्ने गर्दछ । जसका कारण उत्पादनमा कमि आउने उहाँ बताउनुहुन्छ । उहाँका अमनुसार २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ ।

चर्काे गर्मीसँगै एच नाईन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिनको समयमा कुखुरालाई दाना नखुवाउन सुझाव दिंदै उहाँले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिनुभयो ।

पोल्ट्री क्षेत्रमा लामो अनुभव संगाल्नु भएका विज्ञ डा. तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायीहरु प्रभावित भएको बताउनुहुन्छ । चर्काे गर्मीका कारण कुखुरा कमजोर हुने र रोगको प्रकोप बढ्ने उहाँको भनाई छ । उहाँको भनाईमा यतिबेला एउटा अण्डा तयार गर्न रु.१६ हाराहारी खर्च हुने गर्दछ । यस अघि सामान्य अवस्थामा लागत मूल्य रु.१४.५ रहेकोमा उत्पादन घटेसँगै लागत मूल्य बढेको उहाँ बताउनुहुन्छ ।

लागत मूल्यनै बढेपछि उपभोक्तासम्म अण्डा पुग्दै गर्दा मूल्य बढ्ने उहाँको भनाई छ । हाल ठूलो अण्डा फार्म मूल्य प्रति क्रेट (३० वटाको) ४६० र मिडियमको रु.४४५ छ । यो उपभोक्तासम्म पुग्दै गर्दा प्रतिगोटा रु.२० पर्न आउँछ । लागत मूल्य बढेसँगै उपभोक्ता मूल्य समेत बढ्न सक्ने उहाँ बताउनुहुन्छ । अण्डा उत्पादक किसानले अझै लागत मूल्य पाउन सकेका छैनन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल चर्काे गर्मी र रोगका कारण अण्डा उत्पादनमा निकै कमी आएको बताउनुहुन्छ । दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उहाँ बताउनुहुन्छ । धेरै किसानहरु विस्थापित समेत भएको भन्दै उहाँले उत्पादन आधा घटेपनि किसान ८० प्रतिशत हाराहारी विस्थापित हुन बाध्य भएको जानकारी दिनुभयो ।

ठूलो फर्मका कारण बजारको मागलाई धान्न सकेको उहाँ बताउनुहुन्छ । दानाको मूल्य बढ्नु, कुखुराको चल्लाको मूल्य बढ्नु, अण्डाको उत्पादन दर कम हुनु, रोग बढ्नु, औषधिको मूल्य बृद्धि हुनु, बैंकको व्याज दर बढ्नु, लामो समय अण्डाले लागत मूल्य नपाउँदा धेरै किसान विस्थापित हुनु परेको पोखरेल बताउनुहुन्छ । अझै लागत मूल्य किसानले पाउन नसकेको भन्दै उहाँले सरकारी तवरबाट सम्बोधन हुनुपर्ने बताउनुहुन्छ ।

आफूहरुले देशभरका किसानलाई संगठित गरेर बजारीकरणमा लागेका कारण अण्डाको मागमा केही बृद्धि गर्न सकेको उहाँको भनाई छ ।

पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट अझै किसानले लागत मूल्य पाउन नसकेको भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “धेरै किसान विस्थापित भईसक्नु भयो, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।”

मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने राज्यले पोल्ट्री व्यवसायलाई अरु व्यवसाय जस्तो गरी हेर्न नहुने बताउनुहुन्छ । संवेदनशील व्यवसाय भएका कारण यसलाई राज्यले विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड छ । लामिछानेले भन्नुभयो “अब व्यवसायी मात्रैले यो व्यवसाय धान्न सक्ने अवस्था छैन ।” हाल कुखुरा रहेकाहरुले अब लागत मूल्य पाएमा व्यवसाय जोगाउन सक्ने उहाँको भनाई छ । लागत मूल्य पाउँदै गर्दा हाल उपभोक्ताले पाएको मूल्यमा केही बढ्ने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !