
चितवनः यही जेठ १३ गते देखि २६ गते सम्म सञ्चालन गर्न लागिएको आईपिभि (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सीन) खोप अभियानमा जिल्लाका ३६ हजार ७१४ जना बालबालिकालाई सहभागी गराईने भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत जयरा दवाडीका अनुसार उनीहरुलाई ५१० खोप केन्द्रबाट खोप दिन लागिएको हो ।
अभियानमा ४१२ स्वास्थ्य कर्मी र ७२३ जना स्वयमसेवी परिचालन गरिने छ । बि. सं. २०७३ साल बैशाख देखि २०७५ साल आसोज महिना सम्म जन्मिएका बालबालिकाहरुलाई खोप दिईने छ । पोलियो भाइरसबाट हुने संक्रमक रोग पोलियोमाइलाइटिस बिरुद्ध यो खोप दिन लागिएको हो । जिल्लामा यस अभियानलाई जेठ १३ गते देखि २२ गते सम्म सञ्चालन गरीने छ ।
यस अभियानमा भरतपुर महानगरपालिका १९ हजार २९४ जना बालबालिकालाई यो खोप दिईदै छ । यस्तै रत्ननगर नगरपालिकाका ४ हजार ३६९ जना, राप्ती नगरपालिकाका ३ हजार ८५३, खैरहनी नगरपालिकाका ३ हजार २६१, कालिका नगरपालिकाका २ हजार ३३४ जना, माडी नगरपालिकाका २ हजार १२९ जना, र इच्छाकामना गाउँपालिकाका १ हजार ४७४ जना बालबालिकालाई खोप दिन लागिएको दवाडीले बताउनुभयो ।
अभियान जिल्लाका हरेक बिद्यालयलाई खोप केन्द्रको रुपमा प्रयोग गरिने छ । बिद्यालय बाहिर रहेका बालबालिकाहरुका लागि सो दिन बिद्यालयमा ल्याएर वा भोलिपल्ट स्वास्थ्य संस्थामा ल्याएर खोप दिईने उहाँले जानकारी दिनुभयो ।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीले यो खोपले बालबालिकाको स्वास्थ्यमा कुनै प्रभाव नपर्ने हुँदा ढुक्क भएर प्रयोग लगाउन आग्रह गर्नुभयो । नेपालमा अहिले पोलियोको समस्या नदेखिएको भन्दै उहाँले देश पोलियो संगको अन्तिम लडाईमा रहेको बताउनुभयो ।