चितवनः बिदेशमा रहेर पत्रकारिता गर्नु निकै चुनौति पूर्ण रहेको बिभिन्न देशमा रहेर पत्रकारिता गरिरहेकाहरुले बताएका छन् । चितवन घर भई अमेरिका र जापानमा रहनुभएका पत्रकारहरुले प्रबासको पत्रकारिता चुनैतिपूर्ण रहेको बताउनुभएको हो । आज यहाँ पत्रकारहरुसंग अन्तरक्रिया गर्दै उहाँहरुले बिदेशमा बसेर नेपालको धर्म संस्कृति संरक्षण र समाजिक पत्रकारिता गर्ने गरेको बताउनुभयो ।
अमेरिकामा हिमालयखबर अनलाईन चलाउँदै आउनुभएका बिकाशराज न्यौपाने बिदेशमा रहेर पत्रकारिता गर्नु नेपालीहरुलाई निकै चुनौति पूर्ण रहेको बताउनु हुन्छ । नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका न्यौपानेले अहिले अमेरिकामा करिब ५ लाख नेपालीहरु रहेको र जस मध्ये ३ सय जना पत्रकार रहेको भए पनि आफ्नो नियमीत काम सकेर मात्र पत्रकारिता गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । बिदेशमा नेपालीहरुलाई व्यवसायीक पत्रकारिता गराउन कठिन हुने भन्दै उहाँले भन्नुभयो “नेपालीहरुलाई प्रोत्साहन गर्ने काममा त्यहाँको पत्रकारिता अघि वढेको छ ।” व्यवसाय गर्ने नेपालीहरु थोरै हुने हुँदा त्यसबाट खर्च जुटाउन समेत कठिन हुने गरेको उहाँले बताउनुभयो ।
आँफुहरुले बिदेशमा रहेर पनि बिज्ञहरुसंग छलफल, नेपालमा बिदेशी लगानी भित्र्याउने बिषयमा नेपालका राजनितिज्ञहरुसंग बहस गर्ने गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिले हाम्रो लक्ष्य बिदेशमा लगानी गर्ने योजना बनाएर नेपाल आउन चाहानेलाई सरकारको तर्फबाट हुने सहयोगका बारेमा पत्रकारिताका माध्यमबाट झकझकाउने काम गरिरहेका छौ ।”सामुदायीक पत्रकारिता बिदेशमा बसेर गर्ने गरेको उहाँको भनाई थियो । उहाँले एक चोटीको नेपाली सधैको नेपाली भन्ने नारालाई नेपाल सरकारले सम्बोधन गर्न सकेमा नेपालमा लगानीको अभाव नहुने बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो दुईवटा आमा रहनु भएको छ । एउटा जन्मदीने अर्को कर्म दिने ।”
नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्ब अध्यक्ष वेदप्रसाद खरेलले आँफुले अमेरिकामा सन् २००६ देखि सन् २०११ सम्म पत्रकारिता गर्दा निकै चुनौति वेहोर्नु परेको बताउनुभयो । त्यही रहेका नेपालीहरुलाई लक्षित गरेर संञ्चालन गरिएका पत्रिका वा अनलाईन समेत सञ्चालनमा निकै चुनौति देखिएको उहाँले बताउनुभयो । व्यवसायीक पत्रकारिताको बिकास अहिले पनि प्रबासमा हुन नसकेको भन्दै उहाँले भन्नुभयो “आफ्नो नियमित काम सकेर मात्र पत्रकारिताको काम गर्नुपर्ने बाध्यता छ ।”
नेपालमा जस्तो सहज वातावरण वन्न अझै केही समय लाग्ने उहाँले बताउनुभयो । नेपालमा आँफुहरुले पत्रकारिता गर्दा कष्टकर वातावरण रहेको भन्दै उहाँले अहिले त्यसमा केही सुधार आएको आँफुले पाएको बताउनुभयो । उहाँले स्मरण गर्नुभयो “आँफुहरुको पालामा टेलिफोन, यातायातको सहजता कहाँ थियो । अहिलेको जस्तो ।” स्थानीय पत्रकिा बिक्न कठिन हुने समयमा समाचार लेखेर पनि धम्कि सहनु पर्ने स्थिति रहेको भन्दै उहाँले अहिलेका साथीहरुलाई त्यस्तो समस्या नरहेको बताउनुभयो ।
जापानमा रहेर आफनो व्यवसाय संगै पत्रकारिता गर्दै आउनु भएका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्ब अध्यक्ष कृष्ण भण्डारीले काम गरेर वचेको समय मात्रै पत्रकारिता क्षेत्रलाई दिने गरेको बताउनुभयो । आफ्नो नियमित काम गरेर मात्र पत्रकारिता गर्नुपर्ने हुँदा सामाजिक पत्रकारिता मात्रै हुने गरेको उहाँले बताउनुभयो । बि. सं. २०६३ सालमा पत्रकारिता क्षेत्रबाट प्रयाप्त नभएर बैदेशीक रोजगारीको लागि जापान पुग्नुभएका भण्डारी बिदेशमा रहेर त्यहाँ रहेका नेपालीहरुलाई नेपालको धर्म संस्कार सिकाउन पत्रकारिता गर्ने गरेको भए पनि व्यवसायीक वनाउन कठिन भएको बताउनुभयो । १२ घण्टा काम गरेर बाँचेको समय पत्रकारिता क्षेत्रलाई दिनु निकै चुनौतिपूर्ण रहेको उहाँको भनाई थियो ।
छलफलका क्रममा बिदेशी सञ्चार माध्यममा नेपालीले पाएका अबसर र त्यहाँ हुने गरेका चुनौतिको बिषयमा चर्चा गरिएको थियो । सो अबसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीले अहिलेको अबस्थामा चितवनको पत्रकारिता र यहाँ देखिएका चुनौतिका बारेमा प्रकाश पार्नुभएको थियो ।






