चितवनः भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा रहेको पुलचोक–गोन्द्राङ् ६ लेन सडक खण्ड निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा न्यून बजेट बिनियोजन भएको भए पनि थप वजेट निकासा गरेर कामलाई गति दिईएको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेश प्रसाद पौडेलका अनुसार यस आर्थिक वर्षमा रु ५ करोड मात्र वजेट बिनियोजन भएको थियो । थप रु २० करोड बजेट निकासा गराएर काम भएको उहाँले जानकारी दिनुभयो । सडकको केन्द्रिय बस ट्रमिनल देखि गोन्द्राङ् सम्म कालो पत्रेको सबै काम सम्पन्न भएको छ । बसपार्कबाट पुलचोक सम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रेको अन्तिम तह बाँकी छ । फुटपाथ, सभिसलेन, हरियालिका काम, सडक बत्ति लगाएतका काम भईरहेको छ । धेरै काम कालोपत्रेको भएकाले समय धेरै नलाग्ने उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले शहरी क्षेत्रको सडक यथासक्य छिटो सम्पन्न गर्न बजेटको निकासामा पहल कदमि लिएको थियो । पौडेलका अनुसार महानगर प्रमुख रेनु दाहाल स्वयंमले प्रधानमन्त्री लगाएतका कार्यालयहरुमा निरन्तर पहल कदमि गरे पछि थप वजेट निकासा भएको हो । उहाँले भन्नुभयो “अब वजेटको अभाव हुँदैन । निर्माण कम्पनीले तिब्र रुपमा काम गर्नुप¥यो ।”

वि. सं. २०७७ साल असोज २७ गते सम्झौता भई निर्माण कार्य हुँदै आएको सो सडक खण्डको दोस्रो पटक म्याद आउँदो भदौ सम्मका लागि थप गरिएको छ । निर्माणको काम इन्डो सगुन जेभीले गरिरहेको छ । कम्पनीले रु १ अर्ब ७ करोड भूक्तानी पाई सकेको छ । यो आर्थिक वर्षमा पनि रु २५ करोड हाराहारी कम्पनीलाई भूक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । सुरुको ठेक्का रकम रु १ अर्ब २३ करोड रहेकोमा मूल्य बृद्धिका कारण रकम वढ्ने छ । पौडेलका अनुसार काम सम्पन्न गर्न अझै रु २५ करोड हाराहारी आबश्यक पर्छ । केही रकम रहेको र काम सम्पन्न हुँदै गर्दा थप रकम निकासा हुने भएकाले बजेटको अभाव हुने छैन । यो सडक ६ दशमल ०८ किलोमिटर लामो छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मुख्य शहरी क्षेत्रको यो सडकका लागि चालु आर्थिक वर्षमा निकै न्यून बजेट बिनियोजन भएकोमा आँफुहरुले सम्बन्धित निकायमा बिशेष अनुरोध गरेर बजेट निकासा गराएको बताउनुभयो । महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष २०२४ यो सडकको काम अलपत्र भएका कारण सरेर पछि उद्घाटन गरिएको थियो । प्रमुख दाहालले भन्नुभयो “सडकको काम बजेटका कारण हुन नसके पछि प्रधानमन्त्री, अर्थ मन्त्री, भौतिक योजना मन्त्री, सचिब लगाएतलाई पटक पटक अनुरोध गरेपछि काम हुन सकेको हो ।” बजार क्षेत्रमा सडक अलपत्र भए पछि स्थानियले महानगरपालिकालाई काम छिटो गर्न सम्बन्धित निकायमा पहल कदमीका लागि अनुरोध गरेका थिए । प्रमुख दाहाल पहिलो पटक प्रमुख रहँदा महानगरपालिकाको सभा कक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा तत्कालिन समयमा समेत भौतिक योजना तथा यातायात मन्त्री रहनु भएका रघुबिर महासेठ सहितका अधिकारीहरुलाई प्रमुख दाहालले ६ लेन सडक निर्माणका लागि अनुरोध गरे संगै यो सडक निर्माणको काम अघि वढेको थियो ।

प्रतिक्रिया दिनुहोस !