चितवनः जिल्लाका स्थानीय पालिकाहरु बिपद व्यवस्थापनका लागि सक्षम भए पनि स्रोत साधनको कमि भएको पालिका प्रमुखहरुले बताएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय स्तरमा विपद व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै पालिका प्रमुखहरुले स्थानीय स्रोत साधनको भरपुर प्रयोग गर्न नपाउँदा बिपद व्यवस्थापनमा समस्या हुने गरेको बताउनुभएको हो ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले विपद व्यवस्थापनका लागि स्थानीय तहले काम गर्न खोज्दा बिभिन्न निकायहरुबाट रोक्ने गरिएको बताउनुभयो । निकुञ्ज र वनले आ–आफ्नो कानुन देखाउँदै बाढि पहिरो रोकथामका कामहरु गर्न नदिएको उहाँले बताउनुभयो । रत्ननगरमा बाढिको जोखिम बढि हुने गरेको बताउँदै उहाँले खोलामा तटवन्ध गर्न समेत बिभिन्न निकायबाट अनुमति लिनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो “स्थानीय निकायले स्रोत साधनको भरपुर प्रयोग गर्न पाए बिपदको क्षती न्यूनिकरण गर्न सकिने छ ।”
खैरहनी नगरपालिकाका प्रमुख शशी खनियाले आफ्नो पालिकामा आगलागि बाढी, हावाहुरीको समस्या बढी हुने गरेको बताउँदै यसलाई रोक्नका लागि कस्को क्षेत्राधिकार कति भन्ने बिषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । स्थानीय तहलाई अधिकार दिईएको भए पनि कार्यान्वयनका क्रममा अन्य निकायहरुबाट यसलाई रोक्ने काम हुने गरेको उहाँको गुनासो थियो । ठाउँ हेरेर काम गर्न सके मात्रै बिपद व्यवस्थापन गर्न सकिने उहाँको भनाई थियो ।
कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मीले स्रोत साधनको अभावका कारण सोचे अनुसारको बिपदका क्षेत्रमा काम गर्न नसकिएको बताउनुभयो । पालिकाहरुले आफ्नो क्षमता अनुसार काम गरिरहेको भए पनि दक्ष जनशक्ति र स्रोतको अभावका कारण जनअपेक्षा अनुसार काम गर्न कठिन हुने गरेको उहाँको भनाई थियो । माडी नगरपालिकाका प्रमुख तारा कुमारी काजि महतोले स्थानीय सरकारहरु विपद व्यवस्थापनमा सक्षम भए पनि स्थानीय स्रोत साधनको परिचालन गर्न नपाउनुले काम गर्न कठिन हुने गरेको बताउनुभयो । बिपद व्यवस्थापनका लागि प्राकृतिक स्रोत साधनको परिचालन गर्न पाउनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्राकृतिक स्रोत साधनको परिचालन गरेर बिपद व्यवस्थापन र क्षती न्यूनिकरण गर्न सहज वनाईनु पर्छ ।”
इच्छाकामना गाउँपालिकाका प्रमुख दान वहादुर गुरुङ्ले कुन सामाग्रीको आबश्यकता पर्छ त्यही अनुसार परिचालन गर्न पाउनु पर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बिपद व्यवस्थापनकोे अधिकार स्थानीय तहलाई दिईएको भए पनि सो अनुसार पालिका प्रमुखहरुबाट काम हुन नसकेको बताउनुभयो । ठोस योजना वनाएर तीनै तहका सरकारहरु बिच समन्वय गरेर काम हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वन मन्त्रालयका बिकास वातावरण तथा जलवायु बिज्ञ हरि प्रसाद शर्मा र शशस्त्र प्रहरी वल १७ नम्बर वाहिनी आँपटारीका शशस्त्र प्रहरी नायव उपरिक्षक मनोज गुरुङ्ले बिपद र यसको प्रतिकार्यका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । समन्वय प्रमुख अधिकारीले विपद संग बाँच्ने क्षमता नभएकालाई कसरी वचाउन सकिन्छ भन्ने मुख्य उद्धेश्य राखेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यपत्र प्रसतुत गर्दै जलवायु विज्ञ शर्माले जलवायु परिवर्तनको मुख्य प्रभाव पानीमा पर्ने गरेको बताउनुभयो । नेपालले सन् २०४५ सम्ममा कार्वन शून्य बनाउने लक्ष्य लिएको बताउँदै उहाँले बिद्युतीय साधनको प्रयोग वढाउन आबश्यक रहेको बताउनुभयो ।
यस्तै शशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक गुरुङ्ले दक्ष जनशक्तिको अभावका कारण बिपद व्यवस्थापनमा कठिन हुने गरेको बताउनुभयो । बिपद व्यवस्थापनका लागि प्रयाप्त साधन नभएका कारण समस्या हुने गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “बाढिका लागि साधन भए पनि अन्य विपदका लागि प्रयाप्त साधन छैन ।”

प्रतिक्रिया दिनुहोस !