चितवन: भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत बिद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल बिद्युत प्राधिकरणको पोखरा–भरतपुर बितरण प्रणाली सुदृढिकरण आयोजनाले काम गरेको हो ।

पहिलो चरणमा बसेनी देखि गोन्द्राङ् सम्म भूमिगत तारबाट बिद्युत प्रसारणको काम समेत भईसकेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सुरुवाती समयमा भएको सम्झौता अनुसार ७० प्रतिशत काम भएको भए पनि ठेक्काको काम थप भए संगै प्रगति कम भएको हो । आगामी एक साता भित्र ११ केभिए लाइन जडान भएका पाँचवटा फिडर समेत भूमिगत तवरबाट संञ्चालनको तयारी गरिएको छ ।

पछिल्लो सम्झौता अनुसार भरतपुर महानगरपालिका भित्र चनौली लाईन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत गर्दै लगिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बसेनी देखि भरतपुर महानगरपालिका अगाडी सम्म, आँपटारी देखि पोखरा वसपार्क सम्मको सडक र केन्द्रिय वस ट्रमिनल देखि गोन्द्राङ् सम्मको सडक थपिएको छ ।” केन्द्रिय बस ट्रमिनल देखि गोन्द्राङ् सम्मको सडकमा पहिला ३३ केभिए लाईन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४ सय भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो ।

भरतपुरको पुलचोक देखि गोन्द्राङ सम्मको ६ लेन सडक र बाईपास सडकमा मात्रै भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र थप गरे संगै बजेट पनि थप गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगर भित्र बिद्युतीय तार भूमिगत गर्नका लागि रु १ अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई बिनियोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर बिद्युतीय तार भूमिगत गर्ने काम गरीरहेको उहाँले बताउनुभयो । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनवारी २० मा सकिए संगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि वढाईएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिदैं गइिएको उहाँले बताउनुभयो । एशियाली बिकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । महानगरका शहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समस्या हुने गरेको छ ।

तार भूमिगत भए संगै यो समस्या हट्ने र शहरी क्षेत्रको सौन्दर्यता बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस !