नारायणगढः पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित हुनुहुन्छ । विगतमा आँफुले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उहाँ आफ्नो व्यवसायमा उत्साहका साथ लाग्नुभएको छ ।

उहाँले अहिले १२ बिगाह क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएको छ । उहाँले सुनाउनु भयो “विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले बजार राम्रो छ ।” यहाँको केराले बजार धान्ने अवस्था रहँदापनि भारतीय केरा आउने क्रम नरोकीएकाले मूल्यमा भने अघिल्ला वर्षको तुलनामा केही फरक भएको उहाँले बताउनुभयो । केरामानै भविश्य देखेर व्यवसायीक बन्नुभएका भट्ट अहिले आफ्नो उत्पादन दैनिक चितवन सहित काठमाडौं, पोखरा र बुटवल जाने गरेको बताउनुहुन्छ । उहाँ अझै थप ५ बिगाह क्षेत्रफलमा केरा खेती बिस्तारका लागि काम गर्दै आउनु भएको छ ।

केराले बजार पाउन थालेपछि यहाँका अर्का केरा उत्पादक किसान सागर भट्टराईले अहिलेको बजार देख्दा यस व्यवसायमा लाग्न उत्साह बढेको बताउनुभयो । भारतीय केराका कारण यहाँको उत्पादन बिस्थापित हुने हो की भन्ने चिन्ता रहँदैगर्दा अहिले आएर नेपाली केराले बजार पाउन थालेपछि आँफुहरुलाई राहत मिलेको उहाँको भनाई थियो ।

रत्ननगरका विष्णु प्रसाद काप्रीले हाल केराको बजार राम्रो भएको अवस्थामा खडेरीका कारण उत्पादन भने घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाई सुविधा भएको ठाउँमा त ठिकैहोला तर हामीजस्ता १ ÷२ विगाह क्षेत्रमा केरा लगाउने किसानहरुलाई खडेरीले असर गरेको छ ।” केरामा मल हाल्नका लागि आकाशे पानी कुरेर बस्न परेको उहाँको भनाई थियो ।

चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरे भने चितवनको केरा बजारमा पहिलेको भन्दा केही सुधार भएपनि उत्साह भने भै हाल्ने स्थिती नभएको बताउनुहुन्छ । यहाँ उत्पादन भएका मालबोक र जी नाइन जातका ठूला साईजका सग्ला केराहरु बिक्रीमा समस्या नभएपनि साना साइजका केरा भने नबिकेको उहाँको भनाई छ । लगातार परेको खडेरीले गर्दा उत्पादनमा पनि समस्या रहेको भन्दै उहाँले भन्नुभयो, धेरै साथिहरुले भाडामा जग्गा लिएर खेती गर्नुभएको छ । सबैको सिँचाईको लागि बोरिङ हाल्ने स्थिती पनि छैन ।” भारतीय केरा नआउनेहो भने यहाँ उत्पादन भएका सबै साइजका केरा बिक्रीमा समस्या नहुने र केराले मूल्य समेत बढी पाउने उहाँको भनाई थियो ।

जिल्लामा विशेषगरी जी नाइन र मालबोक केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादीत दुबै केराले बजार पाएसँगै व्यवसायी उत्साहीत भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई केरा जोनका संयोजक बिष्णुहरी पन्तले जानकारी दिनुभयो । यद्यपी लगातारको खडेरी, हावाहुरी र रोगकीरा केराखेतीमा समस्या रहिनैरहेको र बजारीकरणमा भारतीय केराको मारबाट यहाँका किसान थप समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो ।

कार्यान्वयन इकाईका सूचना अधिकारी इन्द्रप्रसाद ढुङ्गानाले जिल्लामा हाल २२ हजार ५ हेक्टर क्षेत्रफलमा केरा खेती गरिदैं आईएको बताउनुभयो । उहाँले यो सिजनमा जिल्लामा बार्षिक रुपमा उत्पादीत केराको २५ प्रतिशत बजारमा आउने गरेको उहाँले जानकारी दिनुभयो । यस समयमा नेपाली केराले बजार धान्ने उहाँको भनाई थियो । उहाँका अनुसार जिल्लामा बार्षिक ५६ हजार ४४८ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !