चितवन: जिल्लमा रहेका तरकारी बजारहरुमा आउने दैनिक उपभोग्य तरकारीमा बिषादीको प्रयोग बढि हुने गरेको पाईएको छ । कृषि बिकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, वोडी, टमाटर, भण्टा, काँक्रो, घिरौला लगयतका तरकारीहरुमा बिषादीको प्रयोग हुने गरेको पाईएको हो ।
कँडेलका अनुसार कतिपय तरकारीहरु उपभोग गर्न नहुने अबस्थामा समेत पाईएको छ । उहाँले भन्नुभयो “कार्वामेट र अर्गानाफस्फेटको मात्रा परिक्षणका क्रममा अत्याधिक देखिएको छ ।” उहाँका अनुसार यी दुबै तत्व तरकारीमा ३५ प्रतिशत भन्दा बढि भएमा उपभोग गर्न अयोग्य हुने र ४५ प्रतिशत भन्दा बढि भए नष्ट गर्नुपर्ने अबस्था हुन्छ ।

कृषि बिकास कार्यालय माताहतमा रहेको बिषादी अबशेष द्रुत बिश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परिक्षणका क्रममा जिल्लामा बिक्रिका लागि ल्याईएका तरकारीहरुमा बिषादीको अत्याधिक प्रयोग हुने गरेको हो । महानगर फलफूल तथा तरकारी थोकवजारमा, रत्ननगर, चनौली, भण्डारा लगाएतका क्षेत्रमा बिक्रिका लागि ल्याईएका तारकारीहरुमा बिषादीको प्रयोग भेटिएको हो । जिल्लामा रहेका ३७४ वटा एग्रोभेटबाट बिषादी बिक्री बितरण हुने गरेको उहाँले बताउनुभयो । तरकारी र कृषि जन्य उत्पादनका लागि ती एग्रोभेटहरुले रोग नासक, किरा नासन र भिटामीनको प्रयोग अत्याधिक हुने गरेको छ । उहाँका अनुसार बिषदीको मात्रा, कुन बिषादीको प्रयोगको समय, बिषादीको लेवल हेरेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । तीन वटा बिषादीको प्रयोग एकै पटक गर्दा मानिसको स्वास्थ्य संगै उत्पादन र जमिनमा समेत असर गर्ने उहाँले बताउनुभयो ।
बिषादीको प्रयोग अत्याधिक हुन थाले संगै जनगुनासो बढेपछि कार्यालयले नियमन तथा अनुगमन गरी व्यवसायीहरुलाई सचेत गराउँदै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !