चितवन: जिल्ला कारागार कार्यालय चितवनले कारागार कार्यालयमा कैदी वन्दीको चाप बढे संगै ५७ जनालाई बिभिन्न कारागारमा स्थानान्तरण गरेको छ । कार्यालय प्रमुख कमल प्रसाद आचार्यका अनुसार यही वैशाख ११ गते देखि १३ गते सम्म चार जिल्लामा रहेका बिभिन्न कारागारमा उनीहरुलाई स्थानान्तरण गरिएको हो ।
भिमफेदी कारागार कार्यालय मकवानपुरमा ३० जना, १० जना बिरगञ्ज कारागार, ९ जना नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), ८ जनालाई सर्लाहीमा स्थानान्तरण गरीएको उहाँले जानकारी दिनुभयो । क्षमता भन्दा तेव्वर कैदीवन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । अहिले कारागार कार्यालय चितवनमा ७३० जना कैदी वन्दी रहेका छन् । २५५ जना पुरुष कैदी वन्दीको क्षमता रहेको बन्दी गृहमा अहिले ६९० जना र २५ जनाको महिला वन्दी गृहमा ३९ जना रहेका छन् । उनीहरु संग आश्रीत चार जना बालबालिका रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “बढ्दो गर्मी र कैदीवन्दीको चापका कारण सरुवा रोगको समस्या हुने भएका उनीहरुलाई स्थानान्तरण गरीएको हो ।” यस कारगारमा छिमेकी जिल्ला नवलपरासी (वर्दघाट–सुस्ता पूर्ब)बाट समेत कैदी वन्दी आउने हुँदा कैदी वन्दीको चाप वढ्ने गरेको उहाँले बताउनुभयो । उहाँको अनुसार यस आर्थिक वर्षमा पटक–पटक गरी १०४ जना कैदीवन्दीलाई स्थानान्तरण गरिएको छ ।
प्यारोल अन्तर्गत पाँच जना कैदी रिहा
कारागार कार्यालयमा कैद भूक्तान गर्दै आएका पाँच जना कैदी रिहा भएका छन् । कारागार व्यवस्थापन बिभागले प्यारोल अन्तर्गत रिाहा गर्न प्रकृया सुरु गर्ने परिपत्र पठाए अनुसार उनीहरु रिहा भएका हुन । प्रमुख आचार्यका अनुसार उनीहरुलाई जिल्ला अदातल चितवनको आदेशमा बैशाख १६ गते रिहा गरिएको हो । यसरी रिहा हुनेमा चितवनका चार जना र मकवानपुरका एक जना रहेका छन् ।
जिल्लामा पहिलो पटक सुरु भएको यो प्रकृयामा कैद अबधिमा दुई तिहाई भूक्तान गरेपछि तोकिएको मुद्दाहरुमा चालचल राम्रो भएका कैदीलाई प्यारोल अन्तर्गत रिहा गरिएको उहाँले बताउनुभयो । यसरी रिहा भएका कैदीहरु घरमा गए बस्न र घरायसी काम गर्न पाउने भए पनि जिल्ला बाहिर जाँदा कारागार प्रशासन संग अनुमति लियर मात्रै जानु पर्ने हुन्छ । उनीहरु हरेक १५÷१५ दिनको फरकम कारागार प्रशासनमा तारेखका लागि आउनु पर्ने हुन्छ । प्यारोल अधिकृतको निगरानीमा रहने गरी उनीहरुलाई रिहा गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “निश्चित सर्तको अधिनमा राखि कैदीलाई रिहा गरिन्छ । सर्त उलंघन भएमा पुनः कारागारमा ल्याई बाँकी कैद भूक्तान गराईने छ ।”
उहाँका अनुसार असल आचरण भएका र दुईतिहाइ कैद भुक्तान गरेकाहरुले प्यारोल सुविधा पाउने कानुनी व्यवस्था छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ अनुरुप ‘प्यारोल’ कार्यविधि पास भएसँगै ०८० कात्तिक १ देखि कार्यान्वयनमा आएको भएपनि जिल्लामा यसको अभ्यास पहिलोपटक गरिएको हो ।
फौजदारी कसुर सजाय निर्धारण ऐन, २०७४ को दफा ३९ मा भएको व्यवस्था अनुसार सरकारले जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी मानव बेचबिखन, संगठिन अपराध, सम्पत्ति शुद्धीकरण, क्रूर अमानवीय यातना, मानवताविरूद्धको अपराध, राज्यविरूद्धको अपराधबाहेक १ वर्षभन्दा बढी कैद सजाय पाएका असल आचरण भएका कैदीलाई दुईतिहाइ कैद भुक्तान गरेपछि प्यारोलमा राख्न सकिने छ । प्यारोलको सुविधा पाउनेहरु त्यसरी समाजमा बस्दाको अवधिको कैद भुक्तान भएको मानिने छ ।






