चितवन: नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुईन खोला पुल बाहेक अन्य पुलहरु निर्माण भई सञ्चालनमा आएका हुन ।
निर्माण भईरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम भईरहेको छ । नाम्चे, कालिखोला र खहरे खोलामा निर्माण गरिएका पुलको पहुँच सडक निर्माणको काम भईरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो । उहाँका अनुसार पहुँच सडक निर्माण भईरहेका पुलहरु मध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्त भित्र संञ्चालनमा ल्याउने गरी काम गरिएको छ । खहरे खोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माणका लागि अग्लो पर्खाल उठाउनु पर्ने भएकाले केही समय लाग्ने उहाँले बताउनुभयो । तुईन खोलाको पुल निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तुईन खोलाको पुल निर्माणको काम अन्तर्गत जग उठाउने काम सम्पन्न भएको छ ।”
तुईन खोला र खहरे खोलाको पुल निर्माणको काम कात्तिक मसान्त भित्र सक्ने गरी भइरहेको उहाँले जानकारी दिनुभयो । यस सडक खण्डमा १९ वटा पुल रहेका छन् । जस मध्ये बि. सं. २०७६ साल चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक विस्तार गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाईएको छ । राजधानी प्रवेशको लाईफलाईनको रुपमा यो सडकलाई लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !