चितवन: यहाँको बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा बिस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरंग सेवा बिस्तार गर्ने योजना बनाएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिबजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्च स्तरको सेवा प्रदान गर्नका लागि सेवा बिस्तार गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नती गरी थप प्रबिधि मैत्री वनाई सेवा प्रदान गर्ने योजनामा हामी लागेका छौ ।” उपप्रधान एबं स्वासथ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अस्पताल निरिक्षणका क्रममा अस्पतालका भाबि योजना बारे जानकारी गराईएको उहाँले बताउनुभयो । “यस बारेमा मन्त्री ज्यू सकारात्मक हुनुहुन्छ”उहाँले भन्नुभयो ।
त्यसै गरी अस्पतालको प्याथोलोजी सेवामा मोलिक्यूलर प्रयोगशाला पूर्ण रुपमा सञ्चालन गरीने, रेडियसन सेवामा थप अत्याधुनिक मेसीन जडान गरिने उहाँले जानकारी दिनुभयो । न्यूक्लियर मेडीसीन तर्फ राष्ट्रिय गौरवको रुपमा रहेको साइक्लोट्रोन सहितको पेट सी.टी. स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि बिदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न तर्फ अस्पताल लागेको उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो, “ हामिले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौं । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चीनियाँ सरकारको अनुदानमा काम अघि वढेको छ ।”
अस्पतालबाटै दक्ष जनशक्ति उत्पादन गर्नका लागि शैक्षिक प्रतिष्ठानको रुपमा बिकास गर्ने प्रकृयामा रहेको पनि उहाँको भनाई छ । यहाँ उपचारका लागि छिमेकी देशहरुबाट समेत बिरामी आउने गरेका छन् ।





