चितवन: बिक्रमबाबा मेला आज देखि सुरु भएको छ । हरेक वर्ष चैते दशैंको समयमा लाग्ने बिक्रमबाबा यस वर्ष आज देखि सुरु भएको हो ।
भरतपुर महानगरपालिकाको संयोजनमा मेला सुरु गरिएको हो । महानगरपालिकाले मेला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरका उपप्रमुख एबं मेला व्यवस्थापन मुल समितिका संयोजक चित्रसेन अधिकारीका अनुसार आज औसिको दिन भएकाले भक्तजनहरु कम मात्रामा आएका छन् । मंगलबार देखि भक्तजनहरुको उपस्थिति बाक्लो हुने र मंगलबार नै सामुहीक पुजा गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मेलाको तयारी पुरा भएको छ । आजै देखि भक्तजनहरु आउने क्रम सुरु भएको छ ।” मेला सम्पन्न गर्नका लागि बिभिन्न उपसमिति गठन गरिएको छ ।
पुजा व्यवस्थापनका लागि निकुञ्ज, नेपाली सेना केरुङ्गा मध्यवर्ती सामुदायीक वन र पटीहनी उपभोक्ता समिति र घैलाघारी सामुदायीक वन उपभोक्ता समितिका प्रतिनिधि एबं महानगरका प्रतिनिधिहरु खटिने छन् । अधिकारीका अनुसार बाहिर वजार व्यवस्थापनका लागि वडा नम्बर २३ का अध्यक्ष दिपक दवाडीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरेर काम गरिएको छ । सामुदायीक वन क्षेत्रमा १६० वटा स्टल निर्माण गरी बितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।
यस्तै सरसफाई, खानेपानी, हेल्प डेक्स दमकल एम्बुलेन्स र पानी ट्याङ्कीको व्यवस्था गरिएको छ । कार्यसम्पादन समितिका संयोजक दिपक दवाडीका अनुसार मेला व्यवस्थापनका लागि बिभिन्न क्षेत्रमा सिसिटिभि जडान गरिसकिएको छ । १० स्थानमा क्यामेरा जडान गरिएको र आबश्यकता अनुसार थप गर्ने गरी काम गरिएको उहाँले बताउनुभयो । बिद्यालयहरुको बार्षिक परिक्षा सकिएकाले यस वर्ष ६ लाख भन्दा माथि भक्तजनहरु मेला भर्न आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । आजबाट सुरु भएको मेला बैशाख ११ गते सम्म सञ्चालन हुने दवाडीले जानकारी दिनुभयो । बिहान ६ वजे देखि बेलुका ५ वजे सम्म पुजाका लागि निकुञ्जमा प्रबेश खुल्ला गरिने छ भने मेला बिहान ५ वजे देखि साँझ ८ वजे सम्म सञ्चालन गरिने छ ।
मेला र पूजाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नगर प्रहरीको समन्वयमा गरिने छ । पुलमा भक्तजनहरुको भिड नियन्त्रणका लागि नगरप्रहरीले लाईन व्यवस्थापनको काम गर्ने छ । यस अघि सामुदायीक वन उपभोक्ता समितिले मेलाको व्यवस्थापन गर्दै आएको थियो ।
राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पुजा बिशेष गरी थारु जातिमा प्रचलनमा रहेको छ । बिक्रमबाबाको पुजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुख लगायत मनोकांङ्च्छ्या पूरा हुने विश्वासका साथ बिक्रमबाबाको पूजा गर्ने गरीएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस !