चितवनः जिल्लाका किसानहरुले सरकारले सूचिकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समसया देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धन वहादुर थापा मगरका अनुसार पश्चिम चितवनमा यो समस्या देखिएको हो ।
उहाँले भन्नुभयो “सूचिकृत नभएका धान र २५ बर्ष पुराना धानको जात लगाउने गर्दा धान पसाए पनि दाना नलाग्ने समस्या देखिएको छ ।” अहिले जिल्लामा साबित्रि धान र भारतबाट आयातीत चन्दन धानमा समस्या देखिएको हो । चन्दन धान सरकारको सूचिकृत धान नरहेको उहाँले जानकारी दिनुभयो । थापाका अनुसार जिल्लामा लगाईएको धानको ३० प्रतिशतमा समस्या देखिएको हो । किराको समस्या संगै धानमा दाना नलाग्ने समस्या देखिएको हो ।
सूचिकृत नभएका जातहरु जिल्लाका बिभिन्न एग्रोभेटहरुले किसानको सम्म पु¥याउँदा समस्या आएको उहाँले बताउनुभयो । धान पसाउने समयमा पानी पर्दा परागसेचन समेत हुन नसकेका कारण धान पसाए पनि दाना लाग्न नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । जिल्लामा उत्पादनमा १० देखि १५ प्रतिशत गिरावट आउने अनुमान गरिएको थापाले बताउनुभयो ।
किसानको खेतमा अहिलेको धानमा सित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), हवाइट फ्लाइ(सेतो झिङ्गा), युरीया र पोटासको कमीका कारण पहेलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको छ । उहाँका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ ।
जिल्लामा २२ हजार ९७७ हेक्टर क्षेत्रफल धान खेती गरिएको छ । धानमा समस्या देखिए पछि आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत बिषादी बितरण गरि रोग नियन्त्रणका लागि काम गरिएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गुणस्तरीय बिउको प्रयोग र प्राबिधिकको सल्लाहा अनुसार धान लगाउनु पर्ने उहाँले बताउनुभयो ।






