चितवनः नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिना शर्त कुनै पनि सहायता नपाईने बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जुनसुकै देश वा दाताले दिने सहायतामा शर्तहरु हुने गरेको बताउनु भएको हो ।

पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेले एमसिसिका सन्दर्भमा सोधिएको प्रश्नमा सहायता र ऋणमा पनि शर्त हुने बताउनुभयो । उहाँले भन्नुभयो “कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिना शर्त आउँदैन ।” नेपालले भारतबाट १.७५ प्रतिशतमा ऋण लिंदा ८५ प्रतिशत कच्चा पदार्थ भारतको प्रयोग गर्नुपर्ने शर्त स्वीकार गरेर लिने गरेको उहाँले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “चिनिया सफ्ट लोन लिंदा पनि हामीले चिनिया बाहेक अरुले ठेक्का लिन नपाउने शर्तमा ऋण लिएका छौं ।” चीन सरकारसँग १.७५ प्रतिशतमै शर्त सहित ऋण लिएको उहाँले बताउनुभयो ।

अन्य विभिन्न देशबाट ऋण र अनुदान लिंदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिने गरी लिने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अनुदान विभिन्न देशबाट लिन्छौं, सम्बन्धित देशले नै ठेकेदार तय गरेर भुक्तानी समेत उही देशले गरेर कागज मात्रै नेपाल पठाउने समेत गर्दछन् ।” पूर्व अर्थमन्त्री पाण्डेले सहायता प्राप्त गर्ने विधि थाहा नहुँदा धेरैलाई बिना शर्त आउँछ भन्ने भान परेको बताउनुभयो । उहाँले थप्नुभयो “अनेक कण्डिसनका बीचमा पैसा आउँछ, एशियाली विकास बैंक, विश्व बैंक लगायतले दिने ऋणमा पनि शर्तहरु हुन्छन् । उनीहरुले पनि ऋण दिंदा आफै परामर्शदाता तोकेर पठाउँछन् ।”

एमसिसिमा पनि शर्तहरु रहेको भन्दै उहाँले ती शर्तहरु देशको हितमा छ भने मान्य पर्ने र हितमा छैनन् भने मान्न नहुने बताउनुभयो । उहाँले जोड दिंदै भन्नुभयो “बिना शर्त पैसा आउँदैन, शर्त बेगर आउँछ कि भन्ने लागेको हुन सक्छ ।”

एमसिसिको विषयमा टिप्पणी गर्दै उहाँले रकम ठूलो कुरा नभए पनि यो राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो राजनीतिक सम्बन्धमा गएर समस्या र क्षतिको स्थिति हामीले व्यहोर्न सक्ने हुन सक्छ ।” अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उहाँको चिन्ता थियो । उहाँले भन्नुभयो “हामीले त्यो स्रोत प्राप्त गर्ने स्रोत कमजोर भएर गयो भने नयाँ प्रकारको आर्थिक संकटतर्फ देश जान सक्छ ।”

यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण ढंगले समस्याको सम्बोधन गर्नुपर्ने पाण्डेको भनाई छ । यद्यपी सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको उहाँको आरोप छ । देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्तमा जटिल समस्या देखिएको भन्दै उहाँले यसको समाधान निर्वाचन नै भएको दावी गर्नुभयो । पत्रकार सम्मेलनमा पाण्डेले देशको अर्थतन्त्रका सबै सूचकहरु कमजोर बनेको, नेकपा (एमाले) भित्रको आन्तरिक व्यवस्थापन, जिल्लामा भएका विकास निर्माण बारेमा प्रकाश पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !