चितवनः बौद्धिक अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारको समस्या देशका तीनै तहका सरकारले सुनुवाई नगर्दा समस्यामा पर्दै आएको गुनासो गरेका छन् । अहिले देशभर रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान देखि हरेक कुरामा परेका समस्या समाधानमा राज्यले ध्यान दिन नसक्नु मुख्य चुनौतिको रुपमा रहेको बौद्धिक अपाङ्गताका अभिभावकहरुले गुनासो गरेका हुन ।
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको दशौं बार्षिक साधारण सभा तथा पाँचौ महाधिबेशनमा सहभागी हुन यहाँ आएका अभिभावकहरुले राज्यले आफुहरुको समस्याको सुनुवाई नगर्दा अफ्ठ्यारो भएको बताएका हुन । महासंघका केन्द्रिय अध्यक्ष राजु बस्नेत बौद्धिक अपाङ्गताको पहिचानमानै समस्या रहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो “देशभरी छरिएर रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको पहिचानमानै समस्या छ ।” उमेर अनुसार बौद्धिक बिकास हुन नसकेका व्यक्तिहरुलाई यस अपाङ्गतामा राखिएको भए पनि उनीहरुको लालन पालनमा मुख्य समस्या देखिने गरेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “सबै भन्दा जटिल अपाङ्गता भनेको बौद्धिक अपाङ्गता हो ।” हेर्दा हट्टा कट्टा देखिए पनि उनीहरु परिवारको साहरा बिना हिड्डुल गर्न नसक्ने उहाँको भनाई छ । राज्यले उनीहरुको उपचारका लागि आबश्यक वजेट समेत विनियोजन गर्न नसक्दा कतिपयको अबस्था दायनिय बन्दै गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “मासिक रु ५ देखि ७ हजारको औषधि खुवाउनु पर्ने हुन्छ । तर राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई रु २ हजार देखि ४ हजार सम्म मात्रै सहयोग गर्दै आएको छ ।” यो रकमले औषधि खुवाउने कि उसको लालनपालनमा खर्च गर्ने उहाँले दुखेसो पोख्नुभयो । उनीहरुको लागि राज्यले व्यक्तिगत सहयोगीको व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो ।
महासंघका महासचिब रामनारायण श्रेष्ठले राष्ट्रिय जनगणनाले समेत बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई पछाडी पारेको भन्दै गुनासो गर्नुभयो । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आबश्यकताबाट समेत उनीहरु वन्चीत वन्दा अभिभावकको मन खिन्न हुने गरेको उहाँले बताउनुभयो । उनीहरुका लागि स्रोत कक्षाको संञ्चालन, छुट्टै शिक्षकको व्यवस्था, बिद्यालयको व्यवस्था, खेलकुद जस्ता महत्वपूर्ण कामहरु राज्यले गर्न सके अभिभावकहरुले राहत पाउने उहाँको भनाई थियो ।
पर्बतबाट आउनु भएका गणेश सुवेदीको १३ वर्षिया छोरीमा बौद्धिक अपाङ्गता देखिएको छ। जन्मदा राम्रो भए पनि पछि आएर यो समस्या देखिएको उहाँको भनाई छ । परिवारमा यो समस्या भएको सदस्य भए पछि रोजगारी समेत छोडेर बस्नु परेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “नजिकैको सहकारीमा श्रीमतीको रोजगारी थियो । परिवार जेनतेन चलेको थियो । तर अहिले रोजगारी पनि छोड्नु प¥यो ।” छोरी हेर्नका लागिनै भनेर घर बस्नु परेको उहाँको गुनसो थियो । राज्यले दिवा हेरचाहा केन्द्रको व्यवस्था गर्न सके परिवारले केही गरेर खान सक्ने उहाँले बताउनुभयो ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ३ का जगदीश प्रसाद आर्याल ३४ वर्षिया छोरीको हेरचाहा गर्दै दिन बिताउने गरेको गुनासो गर्नु भयो । उहाँको जेठि छोरीमा यो समस्या देखिए पछि आफ्नो काम धन्दा छोडेर छोरीको हेरचाहा गर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अब त परिवारको भन्दा पनि समाजको काम गरौ भन्ने समय आयो तर छोरी हेरेर बस्नु परेको छ ।” छोरी हेर्नका लागि राज्यले एक जना व्यक्तिको व्यवस्था वा दिवा हेरचाहा केन्द्र स्थापना गरिदए सहज हुने उहाँको भनाई थियो ।
बौद्धिक अपाङ्गता अभिभावक महासंघका सदस्य संस्थाहरुले अहिले देशभर २१ स्थानमा दिवा हेरचाहा केन्द्र सञ्चालनमा ल्याएका छन् । यसलाई अभिभावकहरुले नै चलाउँदै आएका छन् । उनीहरुलेनै व्यवस्थापन गर्दै आएका छन् । बि. सं. २०६८ सालको जनगणनमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु १४ हजार ८ सय ८८ रहेको जनाईएको भए पनि त्यस भन्दा धेरै बौद्धिक अपाङ्गता रहेको महासंघको दावि छ ।






