चितवनः मानब सेवा आश्रम चितवन शाखाले २ सय ८६ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । वि. सं. २०७२ साल माघमा स्थापना भएको यस संस्थाले हाल सम्म ६ सय ५९ जनालाई सेवा प्रदान गरेकोमा उनीहरु मध्ये सो संख्यामा पारिवारिक मिलन गराएको हो ।
आश्रममा आएर उपचार पश्चात १ सय ९२ जना स्वेच्छाले आश्रम छाडेका छन् भने ९३ जनाको निधन भएको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको थियो । सामुदायीक पुनस्थापना भएका ५२ जना रहेका छन् । अहिले यस आश्रममा ६५ जना आश्रीत रहेका छन् । सडकमा रहेका सहयोगापेक्षीहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको यस संस्थाले हाल सात प्रदेशका १७ जिल्लामा आफ्ना शाखा स्थापना गरि काम गर्दै आएको छ । १७ जिल्लामा २५ वटा सेवा केन्द्र स्थापना गरि काम गरिरहेको यस संस्थाले ९ वटा जिल्लामा आफ्नै भवन निर्माणको काम सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
वि. सं. २०८२ सालभित्र खुल्ला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउनु पर्ने सहयोगापेक्षी सडक मानव मुक्त गर्ने लक्ष्यका साथ आश्रमले काम गर्दै आएको छ । यस संस्थाले १७ जिल्लामा ६ हजार २ सय ७५ जनालाई सेवा प्रदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । ती मध्ये २ हजार ४ सय २५ जनाको पारिवारिक पुनर्मिलन, १ हजार ६ सय ६७ जना उपचार पश्चात स्वेच्छाले आश्रम छोडेका, ६ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै ३ सय ५४ जना सामुदायीक पुनस्थापना गरेको र १ हजार ५ सय ६७ जना आश्रममा आश्रीत रहेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चितवन शाखाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा नजिक निर्माणाधिन भवनमा एक सय जना सहयोगापेक्षी राख्न सक्ने गरि भवन निर्माण गरिएको छ । समाजसेवी प्रेमकुमार श्रेष्ठ र स्व. भगवानदाश श्रेष्ठको परिवारले उपलव्ध गराएको ८ कठ्ठा जमिनमा भवन निर्माणको काम भईरहेको छ । यस भवन निर्माण सम्पन्न गर्नका लागि यही मंसिर २६ गते देखि पौष ४ गते सम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ गर्ने लागिएको सो अबधसरमा जानकारी दिईएको थियो । भवन निर्माणमा रु २ करोड खर्च भई सकेको र अझै रु ३ करोड खर्च आउने सो अबसरमा जानकारी गराईएको थियो । वि. सं. २०८० साल सम्म शखाहरुमा आफ्नै भवन निर्माण, वि. सं. २०८१ सालमा रु ५० करोडको अक्षकोष स्थापना र वि.सं. २०८२ सालमा राष्ट्रिय अभियानको रुपमा घोषणा अभियानलाई तिव्र पारिने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले पारिवारिक गैर जिम्मेवारी पन समाजमा वढ्दै जाँदा सहयोगापेक्षीहरु वढेको बताउनुभयो ।






