चितवनः भारतको मुम्बैमा रोजगारीका लागि गएका शिब अधिकारी (नाम थर परिवर्तीत) अहिले नियमित एआरभि (एन्ट्री रेक्ट्रो भाईरल) औषधि खाँदै हुनुहुन्छ । उहाँलाई १५ वर्ष अघि एचआईभि एड्सको संक्रमण देखियो । त्यहाँ एचआईभि देखिएपछि उहाँलाई यो रोग प्राणघात रोग हो भन्ने लाग्यो । प्राणघातक रोग भएकाले अब बाँच्नु छैन भन्ने सोच बनाएर उहाँले आत्महत्या गर्ने सोच बनाउनु भयो ।

उहाँले भन्नुभयो “जिन्दगीमा केही रहेनछ भन्ने सोच आएको थियो । टन्न मादक पदार्थ सेवन गरेर रेलबाट हाम फालेर आत्महत्या गर्ने सोच थियो । तर सकिन ।” उहाँ मुम्बैको एक होटलमा १० वर्षसम्म काम गर्नुभयो । जव एचआईभि संक्रमण देखिए पछि नेपाल फकिएका अधिकारी अहिले एचआईभि संक्रमितहरुको साथी शिक्षकको रुपमा काम गर्दै आउनु भएको छ ।

उहाँ अहिले भरतपुर अस्पतालका रहेको एएचएफ नेपालमा साथी शिक्षकको रुपमा काम गरिरहनु भएको छ । विगत ११ वर्षदेखि यो काममा लाग्नु भएका अधिकारी दैनिक ३० जनाको स्वास्थ्य अवस्था बारेमा बुझ्ने र उनीहरुलाई परामर्श दिने काम गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो “अरुलाई पनि नियमित औषधि खान सल्लाहा दिन्छु, मैले पनि खान्छु ।” धेरै जसो एचआईभी असुरक्षित यौन सम्पर्कबाट हुने गरेको भन्दै उहाँले भन्नुभयो “दुईमिनेटको मजा जिन्दगीको सजा ।”

साथी शिक्षकको रुपमा काम गर्दा धेरै कठिनाई हुने भए पनि अहिले सहज हुँदै आएको उहाँले बताउनुभयो । उहाँले ती दिन सम्झदै भन्नुभयो “पहिला आत्महत्या गर्न मन लागेको थियो । यति धेरै सेवा गर्नु रहेछ के मर्न सकिन्थ्यो र ।” समाजले हेर्ने दृष्टिकोणमा सुरुवातमा निकै निचो र हेय भएको भए पनि अहिले क्रमिक सुधार हुँदै आएको उहाँको भनाई छ । उहाँले बिगत १५ वर्षदेखि औषधि खाने गरेको सम्झदै भन्नुभयो “औषधिले धेरै बाँच्ने आधार बढाउँदो रहेछ ।”

आफुलाई एचआईभि संक्रमण देखिए पनि आत्मबल उच्च बनाएर अहिले यही क्षेत्रमा काम गर्दै आएको भन्दै उहाँले अहिले देखिएको असमानता हटाउनका लागि समाज र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । आर्थिक अवस्था कम्जोर भएका संक्रमितहरुलाई सहयोग गर्न सके यसको रोकथाममा टेवा पुग्ने उहाँको भनाई छ । अहिले जिल्लामा भएका संक्रमित मध्ये ९५ प्रतिशत संक्रमित गरिबिको रेखामुनी रहेको बताउँदै उहाँले उउनीहरुलाई जीविकोपार्जनका लागि स्थानीय सरकारहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

संक्रमितहरु अहिले समाजमा हुने विभेदका कारण खुल्न नसकेको पूर्बी चितवनका रमेश चौधरी (नाम थर परिवर्तन) बताउनुहुन्छ । स्वास्थ्य परीक्षण, उपचार, सहयोग र हेरचाहामा असमानता देखिएको उहाँको भनाई थियो । आर्थिक रुपमा सम्पन्न नभएकाहरुरुमा बढी मात्रामा एचआईभि संक्रमण देखिने गरेको भन्दै उहाँले संक्रमितहरुको लागि स्थानीय सरकारहरुले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँकी श्रीमती पनि संक्रमित भए पछि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । उपचारको अभावमा उहाँले आत्महत्या गर्न बाध्य भएको सम्झदै उहाँले भन्नुभयो “दिन दुखिको कोही हुँदो रहेनछ ।” परिवारमा बृद्ध वुबा, चार छोराछोरी रहेको भन्दै उहाँले दैनिकी चलाउन समेत कठिन हुने गरेको बताउनुभयो । छोरा छोरीमा पनि एचआईभि संक्रमण देखिएको छ । नियमित रुपमा औषधि सेवन गर्दै आईरहेको सो परिवार अहिले उपचार गर्न नसक्दा एक अभिभावक गुमाएको छ ।

जिल्लामा अहिले सम्म २ हजार ३७ जना संक्रमित रहेका छन् । उनीहरु मध्ये १ हजार ४३ जनाले नियमित एन्टि रेट्रो भाइरल नाम औषधि सेवन गर्दै आईरहेका छन् । उनीहरुलाई एएचएफ नेपाल नामक संस्थाले यातायात, खाद्यान्न, उपचार लगयएतमा सहयोग गर्दै आएको छ । सीमित मात्रामा हुने सहयोगले अपुग हुने गरेको छ । मासिक रुपमा सीमित मानिसहरुलाई दिइने सेवाले कतिपय संक्रमितहरुले नियमित औषधि सेवनमा समेत समस्या आउने गरेको एएचएफ नेपाल भरतपुर अस्पतालका प्रमुख कृष्णहरी सापकोटाले बताउनुभयो । सापकोटाले औषधि स्थानीय स्तरमा रहेका अस्पतालहरुबाट उपलव्ध गराउन सके प्रभावकारी बन्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !