चितवनः एक महिना अघि परेको बेमौषमी बर्षाका कारण जिल्लामा २ हजार ५ सय ९१ दशमलब १८ हेक्टर क्षेत्रफलमा लगाईएको धानमा पूर्ण रुपमा क्षती पुगेको छ । पूर्बी चितवन र माडीमा बढि क्षती भएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार खैरहनीमा ७२८.०६ हेक्टर, रत्ननगरमा ७०१.३३ हेक्टर, भरतपुर महानगरमा ४१६.६६ हेक्टर, राप्तीमा ३०६.५० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । यस्तै माडीमा २५० हेक्टर, कालिकामा १४८.६३ हेक्टर र इच्छाकामना गाउँपालिकामा ४० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । चितवनमा २७ हजार २ सय ८१ हेक्टरमा धानखेती हुँदै आएको छ ।
गत असोज २९ देखि लगातार ४ दिनको बेमौषमी झरिले पाकेको धान खेतमै ढुबानमा परेको थियो । कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार सबैभन्दा धेरै खैरहनी नगरपालिकामा धानबालीमा असर परेको हो । अर्यालले समग्र धानबालीमा ९.४९ प्रतिशत नोक्सान भएको बताउनुभयो । उन्नत र हाइब्रिड जातका धानबालीमा असर पुगेको छ । उहाँले भन्नुभयो “९,०७० मेट्रिक टन धान खानै अयोग्य हुने गरि नष्ट भएको छ ।”
विगतका वर्षमा जिल्लामा १ लाख ५ हजार ८ सय ४१ मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । बेमौषमी बर्षाले अधिकांश धानबालीमा असर परेको छ । आंशिक ढलेको, भिजेको र डुबेको विवरणको एकिन तथ्याङ्क नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सातवटै स्थानीय तहबाट पूर्ण क्षतिको विवरण लिएर राहतका लागि प्रदेशको मन्त्रालयमा पठाइसकेका छौँ ।” प्रतिक्वीन्टल रु २ हजार ८ सयका दरले अनुमान गर्दा करिब रु २५ करोड ४० लाख बराबरको नोक्सान भएको अर्यालले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख यूवराज पाण्डेले क्षतिका आधारमा किसानले राहत पाउने बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले राहत दिने घोषणा गरिसकेको छ, कार्यविधि आउनसाथ स्थानीय तह मार्फत राहत वितरण हुन्छ ।” क्षतिको वर्गीकरण गरेर राहत वितरण गरिने उहाँले बताउनुभयो । उत्पादन लागतका आधारमा पूर्ण क्षति भएका धानबालीमा १० कट्ठासम्म ६५ प्रतिशत, ११ देखि ४० कट्ठासम्म ३९ प्रतिशत, ४१ कट्ठा बढीमा २० प्रतिशतसम्म राहत दिने सरकारको तयारी छ । यस्तै आंशिक क्षति भएको हकमा उत्पादन लागतको २० प्रतिशत राहत दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस !