बेलायतबाट फर्किएर चेन होटल

चितवनः दश वर्षको वेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याउनु भएको छ । दियालो र अनुपम फुडल्याण्डको नाममा उहाँको समुहको होटल बिस्तार भईरहेको छ ।
पन्ध्र वर्ष अघि काठमाडौंको बसुन्धरामा उहाँको नेतृत्वको समुहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु भएको हो । सोही नाममा वुटवलमा, भरतपुरमा र वालाजुमा सञ्चालनमा रहेको छ । त्यसै गरि अनुपम फुडल्याण्ड काठमाडौंको बत्तीसपुतलिमा सञ्चालनमा छ । अनुपमलाई पोखरा, हेटौडा र नुवाकोटमा शाखा बिस्तार गर्ने उहाँको तयारी छ । चापागाईले भन्नुभयो“आउँदो पाँच वर्षमा २० स्थानमा शाखा खोल्ने तयारीमा छौ ।”
भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थायी घर भएका उहाँले यहाँको बालकुमारी कलेजबाट कानुनमा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरे संगै उहाँ बेलायत पुग्नु भयो । लण्डनको ९ वर्ष ८ महिनाको बसाईमा उहाँको जिम्मेवारी राम्रो होटलको सेफको थियो । त्यहाँको आफ्नो अनुभवलाई स्वदेशमानै प्रयोग गर्नुपर्छ भन्ने लागेपछि स्वदेश फर्कीएर काम थालेको चापागाई वताउनुहुन्छ । उहाँले भन्नुभयो “मैले त्यहाँ पैसा र शिप पाए पछि स्वदेशमानै गएर काम गर्ने रहर भयो ।”
नेपाल फर्कीए संगै काठमाडौंमा एक जना साझेदार संग मिलेर उहाँले दियालो फुडल्याण्ड सुरु गर्नु भयो । ती साझेदार हुनुहुन्छ माधव पाण्डे । यस संगै साझेदारको संख्या थप गरेर व्यवसाय बिस्तार हुन थाल्यो । सुरुमा २ जनाले रु २ करोड २० लाख लगानीबाट थालिएको यो व्यापार आज सम्म आई पुग्दा रु ५० करोड भन्दा माथिको भएको छ । साझेदार २७ जना पुगेका छन् । मुख्य समुहमा चापागाई सहित पाँच जना छन् भने शाखाहरुमा स्थानिय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ । सबैलाई जोड्दा यो संख्या पुगेको हो ।
आम्दानीको २० प्रतिशत व्यवसाय बिस्तारका लागि खर्च गरिदैं आएको उहाँ बताउनुहुन्छ । राजधानीमा ठूला कार्यक्रमका लागि चापागाई परिचित नाम हो । राजनैतिक दलका सभा सम्मेलन गर्न पर्दा आउने नामहरु मध्येमा उहाँलाई पहिलो लहरमा लिने गरिन्छ । आफ्नो गृह जिल्ला चितवनमा सबैभन्दा ठूलो सभाहल सहितको दियालो फुडल्याण्ड सञ्चालनमा आएको छ । उहाँले भन्नुभयो “हाम्रो हलमा २ हजार २ सय कुर्ची अट्छ । राजधानी बाहिर यतिठूलो हल कसैको छैन ।” कला कौशलले सजिएको वेलायती शैलीको आकर्षक हल संगै २० वटा कोठा दियालोमा छ ।
उहाँको दावि छ, “सबैको भन्दा मिठो खाना हामी खुवाउन सक्छौ ।” आफै सेफ भएकाले उहाँका होटलहरुमा परिकारमा बढि जोड दिइन्छ । दियालो समुहका अध्यक्ष चापागाई काठमाडौंका जस्ता सेफ स्थानिय स्तरमा पाउन कठिन र एकै खालका खानाका लागि राजधानिका सेफ राखेर बाहिरी शाखा संञ्चालनमा आएको बताउनुहुन्छ । चितवनमा राष्ट्रिय स्तरका कार्यक्रम गर्न सहयोग पुगोस भन्नका लागि ठूलो हलमा खर्च गरेको उहाँको भनाई छ । यहाँको शाखामा मात्र रु १२ करोड खर्च भएको चापागाईले जानकारी दिनुभयो ।
होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश चुके बिदेशको शिप उपयोग हुने गरि स्वदेशमा व्यवसाय बिस्तार गर्नु सकारात्मक भएको बताउनुहुन्छ । अहिलेको परिस्थिति सकारात्मक नभए पनि आउँदा दिनमा होटल व्यवसाय राम्रो हुने उहाँको भनाई छ । चितवन देशकै केन्द्रबिन्दु भए पनि ठूला हलको अभावमा कार्यक्रमहरु हुन नसकेको भन्दै उहाँले चापागाई समुहको होटल ठूला कार्यक्रमका लागि प्रभावकारी हुने छ भन्नुभयो ।
दियालो फुडल्याण्ड चितवनका साझेदार सनद कुमार पिया विदेशमा आर्जन गरेको शिप यहाँ ल्याएर यसको प्रतिफल नेपालीलाई दिने उदाहरणीय काम चापागाइले गरेको बताउनुहुन्छ । नेतृत्व कर्ता संग सिप भएकाले आँफुहरु लगानी गर्दा ढुक्क रहेको उहाँको भनाई छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer