चितवनः कालिका नगरपालिकाले नगरभित्र रहेका चार वटा सामुदायीक विद्यालयलाई स्कुल बस प्रदान गरेको छ। आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट दुई वटा र आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट दुई वटा गरी चार वटा सामुदायीक विद्यालयलाई प्रदान गरिएको हो । सामुदायीक विद्यालयको शैक्षिक सुधार तथा सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरभित्रको सामुदायिक विद्यालयमा बस प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट पृथ्वी माध्यामिक बिद्यालय भटेनी र आधारभूत विद्यालय समीपुरलाई एक÷एक वटा बस हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७७÷७८ को वजेटबाट शक्तिखोरको चतुर्मुखी माध्यामिक बिद्यालय र पदमपुरको भिमोदय माध्यामिक बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
श्रेष्ठले सामुदायीक विद्यालयलाई अब्बल बनाउँदै विद्यार्थीको भविष्य सुनिश्चितताको लागि सेवा थप गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सेवा बढाउँदा शैक्षिक गुणस्तर सुधार हुनैपर्छ,” । शैक्षिक सुधारकै लागि स्कुल बस प्रदान गरिएको भन्दै उहाँले पहाडी क्षेत्रमा रहेका चेपाङ बालबालिकाको शिक्षामा सहजताको लागि अझै पनि समस्या रहेको बताउनुभयो । चेपाङ् बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि आवासीय विद्यालय निर्माण भइरहेको श्रेष्ठको भनाई छ । कालिका नगरपालिकामा ३५ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालय रहेका छन् ।





