
काठमाडौंः गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उहाँलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ ।
आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्तता रहरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरु नियमानुसार गर्नु ।’
थापालाई पार्टीको सिफारिसमा पदमुक्त गरिएपनि उहाँ सर्वोच्च पुग्नुभएको थियो ।