चितवनः जिल्लामा कोरोना सङ्क्रमित वढ्दै गएपछि भरतपुर महानगरपालिकाले वडा नम्बर १४ शिवनगरमा १५ शैयाको आइसोलेसन निर्माण गरि सञ्चालनमा ल्याएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज अक्सिजन सहितको उक्त आइसोलेसनको शुभारम्भ गर्नु भएको हो । शुभारम्भ कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेसन तयार गर्न सफल भएको बताउनुभयो । भरतपुर महानगरपालिकाले कोभिड १९ को दोस्रो प्रकोप रोकथाम तथा सङ्क्रमितको उपचारका लागि आइसोलेसन तयार गरेको हो ।
आवश्यक अनुसार आइसोलेसन थप्दै लैजाने प्रमुख दाहालको भनाइ छ । कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालहरूसंग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको उहाँले बताउनुभयो । कोभिड १९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले चेतनामूलक गतिविधी, स्वास्थ्य मापदन्डको पालना, बिरामीहरूको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिड १९ का बिरामीहरूलाई अस्पतालसम्म लैजानका लागी महानगरपालिकाका ३ स्थानमा ४ वटा एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गरिरहेको छ । महानगरपालिकाले शिवनगर स्वास्थ केन्द्रको आइसोलेसन निर्माणपछि शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ शैयाको आइसोलेसन निर्माण गर्ने तयारी गरेको छ । महानगरले यसअघि नै शिवनगर र शारदानगरमा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरेअनुसार शिवनगरमा आइसोलेसन निर्माण गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेसन संचालन गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नम्बर १४ का अध्यक्ष ओमप्रकाश पोखरेल लगाएतले बोल्नुभएको थियो ।

कोभिड आइसोलेसनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायतका सेवा कोभिडका संक्रमितहरूले निःशुल्क पाउनेछन् । अस्पतालमा २ मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकहरूले सेवा दिनेछन् । यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववत रूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ ।

प्रतिक्रिया दिनुहोस !