दाङः दाङको तुलसीपुरमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन्।

कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार रहेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो।

मृतकमध्ये दुई दाजुभाइका छोरा रहेको खुलेको छ। शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ।अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको बताएका छन्। उनीहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।

सिंहका अनुसार कार धनी यादवप्रसाद गैरे रहेको पत्ता लागेको छ। उनलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस !