चितवनः भूकम्पका कारण घरमा क्षती भएर मर्मत सम्भार मात्र गर्न निवेदन दिएका मध्ये ५ सय ४५ जनाले नयाँ घर वनाउनका लागि अनुरोध गरेका छन् । सुरुमा सामान्य मर्मत सम्भारबाट घर वनाउने भनिए पनि पछि उनीहरुले पुरै घर निर्माणका लागि निवेदन दिएका हुन ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई चितवनमा घर मर्मतका लागि आबेदन दिएका १ हजार ३ सय ७८ जना मध्ये ५ सय ४५ जनाले पुरै घरबनाउन निवेदन दिएका हुन । इकाईका इन्जिनियर सुबास नेपालका अनुसार निवेदन परेका मध्ये २ सय ८३ जनाको नाम प्राधिकरणबाट स्विकृत भई सकेको छ । १ सय ६२ जनाको नाम पठाई सकिएको र अन्य १ सय जनाको नाम पठाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । घर मर्मत मात्रै गर्ने निवेदन दिएका (प्रबलीकरणमा परेका) मध्ये १७ जनाले दोस्रो किस्ता बापतको रकम समेत निकासा गरिसकेका छन् ।

घर प्रबलीकरण गर्नेहरुले पहिलो र दोस्रो किस्ता क्रमश रु ५०÷५० हजार अनुदान पाउने छन् । नयाँ घर वनाउनेहरुले भने तीन किस्ता गरेर रु ३ लाख पाउने छन् । सेवाग्राही मध्ये ९८ जनाको नाम हटाउनका लागि सिफारीस गरिएको छ । सेवाग्राही सम्पर्कमा नआएका कारण उनीहरुको नाम हटाइएको हो ।

जिल्लामा भूकम्पको समयमा ७ हजार ८ सय ६० घर पुननिर्माण गर्नु पर्ने भएको थियो । जस मध्ये हाल सम्म ६ हजार २ सय २ वटा घरको पुननिर्माणको काम सम्पन्न भएको छ । घर निर्माण सम्पन्न हुनेमा ८२ दशमलब ९ प्रतिशत रहेको नेपालले बताउनु भयो । उहाँका अनुसार पुनर्निमाण तर्फ पहिलो किस्ता ७ हजार ५ सय ५५ र दोस्रो किस्ता ६ हजार ६ सय २४ जनाको निकासा भइसकेको छ ।

उनीहरुले पहिलो, दोस्रो र तेस्रो किस्ता बापत क्रमश रु ५० हजार, १ लाख ५० हजार र १ लाख पाउने छन् । पुननिर्माण तर्फ ३ सय ५ जनाको नाम लाभग्राहीबाट हटाउनका लागि सिफारीस गरिएको छ ।

भूकम्पका कारण जिल्लाका सातवटै पालिका प्रभावित भएका थिए । जस मध्ये जिल्लाको पहाडी क्षेत्रमा रहेको इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस !