चितवनः भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफ्नो ४० औं जन्मदिनको अबसरमा भरतपुर अस्पतालको अति बिपन्न नागरिक उपचार कोषलाई सहयोग गर्नु भएको छ । अस्पतालमा आज आयोजित एक कार्यक्रममा उहाँले अस्पताल बिकास समितिको नेतृत्व सम्हाल्नु भएको ११ महिनाको बैठक भत्ता, यातायात खर्च, खाजा खर्च बापत जम्मा भएको रकम अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. बासुदेव पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो ।
सो अबसरमा अधिकारीले रु ३६ हजार २ सय ५० कोषका लागि हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै उहाँले बिपन्न नागरिकको उपचारमा आँफु सधै लागि पर्ने भन्दै उहाँले सक्दो सहयोगका लागि सधै तयार रहेको बताउनुभयो । जिल्लामा चिकित्सकका रुपमा परिचित अधिकारीले सबै नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्य परिक्षण गर्नुपर्ने भन्दै आँफुले पनि स्वास्थ्य परिक्षण गरेको बताउनुभयो ।