चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २० भिमनगरमा प्रदेश स्तरको उद्योग ग्राम निर्माण सुरु गरिएको छ । तीन वर्षमा रु १९ करोड खर्च गरेर साना, लघु र मझौला उद्योग रहने गरि उद्योग ग्राम निर्माण थालिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साना, लघु र मझौला उद्योग रहने गरि संरचना निर्माण गरिने जानकारी दिनुभयो । यहाँ छरिएर रहेका उद्योगलाई एकै ठाउँमा व्यवस्थित संञ्चालनका लागि उद्योग ग्राम उपयोगी हुने उहाँले जानकारी दिनुभयो । यस वर्ष पर्खालको काम गरिदैं छ ।

चार बिगाह १० कठ्ठा जमिनमा साना उद्योगका लागि आबश्यक पर्ने सम्पूर्ण संरचना निर्माण गरिने उहाँले जानकारी दिनुभयो । आउँदो वर्षबाट संरचना निर्माणको काम थालिने छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयले निर्माण पछि व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरपालिकालाई दिदै छ ।

दाहालले भन्नुभयो “हामी सबैको प्रयासका कारण महानगरपालिकामा यो परियोजना थालिएको हो ।” व्यवस्थित उद्योग ग्राम महानगरपालिकामा हुँदा उद्योगीहरु लाभान्बित हुने उहाँको भनाई छ । घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख यादवनाथ आचार्यका अनुसार यस आर्थिक वर्षमा पर्खालको कामका लागि रु १ करोड ८ लाख ५५ हजारमा वलदेव विल्डर्सले वोलपत्र सकार गरेको हो । ४३ दशमलब १० प्रतिशत कम रकममा ठेक्का कवोल गरिएको हो ।

आचार्यले साना उद्योगका लागि बागमती प्रदेशमानै व्यवस्थित उद्योगग्राम यहाँ वन्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले तयारी गरेर महानगरलाई व्यवस्थापनका लागि हस्तान्तरण गर्ने छौं ।” यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले समेत यहाँ उद्योग ग्राम वनाउन चासो दिएका कारण कामले मूर्तरुप लिएको आचार्यको भनाई छ ।

उद्योग ग्रामका लागि महानगरपालिकाले जग्गा उपलव्ध गराएको थियो । जिल्लामा १३ हजार भन्दा वढि साना उद्योग दर्ता भएका छन् । छरिएर रहेका उद्योगहरुलाई व्यवस्थित र एकै ठाउँमा संञ्चालन गर्न उद्योगग्राम सहयोगी हुने छ । आचार्यले भन्नुभयो “उद्यमशिल भएर पनि वजेटको अभाव भएकालाई यो निकै उपयोगी हुने छ ।”

उद्योग संघ चितवनका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल साना उद्योगहरु यसबाट लाभान्बित हुने बताउनुहुन्छ । फर्निचर, वल्डीङ्ग, मसला, व्लक जस्ता उद्योगहरुलाई बिद्युत आपूर्ती, प्रदुशण लगाएतका समस्याबाट मुक्ती पाउने उहाँको भनाई छ ।

जिल्लाकै कालिका नगरपालिका वडा नम्बर ७ मा शक्तिखोर औद्योगीक क्षेत्र वन्दै छ । १ हजार ७ सय ४१ विगाहमा औद्योगीक क्षेत्र वन्न लागेको हो । यता भरतपुर महानगरपालिका वडा नम्बर २२ मा घरेलु तथा साना उद्योग प्रदर्शनी कक्ष निर्माण थालिएको छ ।

प्रतिक्रिया दिनुहोस !