चितवनः नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालले देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरिने बताउनु भएको छ । जनवरी १ तारिखमा कार्यभार सम्हालेपछि गृहजिल्ला आउनु भएका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।
नेतृत्व, व्यक्तित्व र क्षमता विकासलाई महत्व दिएर अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो “मैले आगामी बर्ष जेसीजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु ।” आफूले सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्ने उहाँको भनाई थियो ।
जेसीज आफैमा एउटा तालिम प्रदायक संस्था भएको बताउँदै उहाँले भन्नुभयो “मेरो कार्यकालमा तालिमलाई अझै सर्वसुलभ बनाउने मेरो प्रयास हुनेछ ।”
जेसीजले मानवताको कार्यलाई आफ्नो आर्दश ठान्ने बताउँदै उहाँले थप्नुभयो “हाम्रो आस्था हेर्नुहोस् समाज रुपान्तरणका लागि जेसीजले सबै काम गर्दै आईरहेको छ ।” निरंकुश र कहाली लाग्दो शासन व्यवस्था भएका बेलामा पनि जेसीजले आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको भन्दै खनालले जेसीजले बिधिको शासन नै मुलुकका लागि चाहिन्छ भनेर वकालत गर्ने गरेको बताउनुभयो ।
जेसीज सधैं लोकतन्त्रको पक्षमा रहेकोमा जोड दिंदै उहाँले भन्नुभयो “हामी व्यक्तिको शासन मान्दैनौ, विधिको शासनका पक्षपाती हौं, कहिंकतै शासनमा व्यक्ति हावी भए र विधि मिचियो भने जेसीजले देशभर विधिको शासनका पक्षमा वकालत गर्छ ।” जेसीजमा राजनैतिक आस्थाले केही फरक नपार्ने बतााउँदैै उहाँले जेसीज राजनीति गर्ने थलो नभएकोे प्रष्ट्याउनुभयो ।
‘परिवर्तनका लागि उठौंं, मानव विकासका नेतृत्वका अभ्यासहरु देशभरी’ भन्ने प्रकरणका साथ आफू लागेको उहाँले बताउनुभयो । राष्ट्रिय अध्यक्षको यही प्रकरणमा केन्द्रीत रहेर देशभरका जेसीजकर्मीहरुले काम गर्ने उहाँको भनाई छ । देशभरमा २० हजारभन्दा बढी संख्यामा जेसीजका सदस्य छन्् ।
सन् २००४ देखि जेसीज अभियानमा लागेका खनाल सन् २०१० मा बीसहजार जेसीज भरतपुर चितवन शाखा अध्यक्ष, सन् २०१२ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०१३ मा राष्ट्रिय महासचिव र सन् २०१६ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भई सन् २०२१ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएको हो ।