चितवनः चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं. २३ बस्ने ४९ वर्षिय शुकबहादुर दरै, ४२ वर्षिय चन्द्रप्रसाद दरै, २८ वर्षिय दिपक दरै, सन्तकुमार दरै, ६० बर्षिय बुद्धिबहादुर दरै, २८ वर्षिया सुकमाया दरै र ५० वर्षिया शान्ति दरै रहेका छन् ।
उनीहरुको साथबाट ३० किलो चित्तलको मासु, तीन वटा डेक्ची, एउटा कराही, दुई वटा स्टिलको बाटा, एउटा स्टिलको बाबल, एउटा अचानो, एउटा खुँडा, एक थान मासु सुकाउने जाली र दुई वटा प्लाष्टिकका बोरा समेत बरामद गरिएको अधिकारीले जानकारी दिनुभयो ।
उनीहरुलाई सोमबार राती ११ बजेको समयमा चित्तल काटेर खाँदै गरेको अवस्थामा निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कानुनी कारवाही अगाडि बढाईएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !