
डडेलधुराः भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गरेको आरोपमा पक्राउ परेका कैलालीको धनगढीका वडाअध्यक्ष धरौटीमा रिहा हुनु भएको छ ।
जिल्ला अदालत कैलालीले धनगढी उपमहानगरपालिकम– १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीलाई सोमबार २५ हजार धरौटीमा रिहा गरेको हो ।
धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार वडाध्यक्षसँगै पक्राउ परेका अन्य तीन जनामध्ये एक जनालाई साधारण तारेखमा छोडिएको छ भने दुई जना कारागार चलान भएका छन् ।
झुठो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।
अन्सारीलाई दाइ बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्बर १२ कै खुशीराम चौधरी अदालतले माग गरेको ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् भने भाउजू बनेर सहयोग गर्ने गीता चौधरीलाई साधारण तारिखमा छोडिएको छ ।
बुबा बनेर नागरिकता दिलाउने धनगढी उपमहानगरपालिका १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने अझै फरार छन् ।
प्रहरीले उनको खोजीकार्य जारी राखेको छ । वडाअध्यक्ष जोशीले २० फागुन २०७५ मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुबा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।