वडा अध्यक्षमा पराजय संगै वाख्रा पालन

चितवनः केन्द्रमा राजनिती गर्नेहरु पूर्णकालिन हुने भए पनि स्थानीय स्तरका नेता कार्यकर्ताहरुको आफ्नो पेशा नहुँदा टिक्न कठिन हुन्छ । पारिवारीक व्यवस्थापन संगै राजनिती उनीहरुको बाध्ता हुने गर्दछ । विगतमा राजनिती मात्रै गर्दै गर्दा धेरैले आफ्नो सम्पत्ती सकेको गुनासो गर्ने गरेका छन् ।

यस्तै माडीमा गएको स्थानिय निर्वाचनमा वडा अध्यक्षमा पराजय भोग्नुभएका निलकण्ठ काफ्ले यतिवेला राजनिती संगै बाख्रा पालनमा लाग्नु भएको छ ।

माडी नगरपालिका वडा नम्बर ७ का काफ्लेले सोही वडामा पराजय वेहोरे पछि व्यवसायीक वाख्रा पालनमा जुट्नु भएको हो । ५७ वर्षिय काफ्ले अहिले माडी एग्रोफार्म मार्फत वोयर बाख्रा पालेर पाठापाठी बिक्रि बितरण गर्दै आउनु भएको छ ।

स्थानीय तहको निर्वाचनमा एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट वडा अध्यक्षको उम्मेदवार बन्नु भएका काफ्ले अहिले आफ्नै व्यवसायमा रमाउँदै आउनुभएको छ । उहाँले गएको एक वर्षमा रु १० लाख भन्दा वढिको बोयरका पाठापाठी बिक्रि गरेको बताउनुभयो ।

भारतको तामिलनाडु पुगेर शुद्ध बोयरको पाठा ल्याएर उहाँले व्यवसाय सुरु गर्नु भएको हो । आफ्नो चाहना पुरा गर्नका लागि रु ५४ हजार रुपैयाँमा १७ किलोको तीन महिने पाठो ल्याएर हुर्काउन थाल्नुभयो । तर ६ महिनामै खोरभित्रका अन्य बाख्रा मर्न थाले । उहाँले गुनासो गर्नुभयो “५५ बाख्रामध्ये १५ वटामात्रै बाँचे ।” बाख्राका पाठा मर्न थालेपछि बाख्रापालननै छाड्ने स्थितिमा पुग्नुभएका काफ्लेले हार खानु भएन । बिरामी परेको बोयरको पाठो पछि तंग्रिन थाल्यो । विगत सुनउँदै भन्नुभयो, “अर्को वर्ष खोरमा ५० बाख्रा पुगे, बोयर क्रस गरेर पाठापाठी जन्मिन थाले ।” त्यही बोयर मार्फत उन्नत जातका पाठापाठी जन्मिन थालेको उहाँको भनाई छ । जसले खोर भरिन थाल्यो ।

उहाँले वि.सं.२०७५ सालमा रु १२ लाख बराबरका बोयरका पाठाहरु बेच्नुभयो । गत वर्ष करिब रु १० लाख बराबरको बेच्नुभयो । वि.सं. २०७६ को असारमा उहाँले अष्ट्रेलियाबाट २४ वटा बोयरका पाठी र ६ वटा पाठा किनेर ल्याउनुभयो । अहिले फर्ममा ६० वटा बाख्रा छन् । जसमध्ये ४० वटा माउ छन् । सुरुमा रु १ लाखको बाख्रा किनेर फार्म दर्ता गराउनुभएका काफ्लेले हालसम्म फार्ममा करिब रु १ करोड लगानी गरिसक्नुभएको छ । उहाँले भन्नुभयो,“यो वर्ष २० लाखका बोयरका पाठापाठी बेच्ने लक्ष्य छ ।” उहाँले सुनाउनुभयो, “बोयर उन्नतजातको बाख्रा हो, यसले उत्पादन लिन सजिलो हुनेरहेछ ।”

छिटो हुर्कने, तौल बढ्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले बोयर जातका बाख्राको माग बढ्दो छ । शुद्ध बोयर पाठा रु १ लाख ५० हजार देखि रु २ लाखसम्म बिक्रि हुन्छ भने पाठीहरु रु १ लाख ८० हजारसम्म बिक्रि हुने गर्छ । २ वर्षमा बोयरका बोका १ सय किलो बढी तौलका हुन्छन् । शुद्ध बोयर बोका र स्थानीय बाख्राबीच क्रस गराएर जन्मने पाठापाठी ४ महिनामा ४० किलो बढी तौलका हुन्छन् । अर्खाखाँची, स्याङजा, बुटवल, धनकुटा, पोखरासम्मबाट बोयरका पाठापाठी लिन आउने गरेको उहाँले वताउनुभयो । व्यवसायीक रुपमै अघि बढ्ने सोचका साथ उहाँले केही स्थानीयलाई लिएर धादिङ, गोरखा, तनहु, पोखरासम्म पुगेर उत्कृष्ट गाई, बाख्रा फार्म अवलोकन गर्नुभयो । उहाँका तीन छोरामध्ये जेठो छोरा मनोरोग विशेषज्ञ डा. खगेन्द्र र माइलो छोरा हरि इञ्जिनियर हुनुहुन्छ । कान्छो छोरा हिम भारतमा बिद्यावारिधि गर्दैहुनुहुन्छ ।

छोराहरु संगै नभए पनि श्रीमतीको प्रत्यक्ष साथ छ उहाँलाई । बाख्रा उत्पादनमा नश्ल सुधार अतिआवश्यक रहेको उहाँको भनाई छ । यस फार्मलाई नमुना स्रोत केन्द्रको रुपमा विकास गर्ने योजना रहेको छ । फार्ममा शुद्ध बोयर, बोयरका ५० प्रतिशत क्रस, ७५ प्रतिशत क्रस गरेका पाठापाठी उत्पादन हुदै आएको छ । फार्मबाट अहिले पाठापाठीमात्रै बेच्ने गरिन्छ । बाख्रा पालनका लागि चार विगाहा जमिनको व्यवस्था गरिएको छ । जसमध्ये २ विगाहामा अहिले घाँसखेती छ । बाख्रापालनबाट भविष्य राम्रो भएको भन्दै उहाँले सीप र लगानी गरेर निरन्तरता दिएमा व्यवसायमा सफल बन्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो “मिहिनेत ग¥यो भने विदेश जानु पर्दैन । स्थानीय स्तरमा राजनिती पनि छोडनु पर्दैन ।”