
चितवनः नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टिकरण आवश्यक रहेको औल्याईएको छ । हरेक वर्ष ठूलो संख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन् । विदेशीने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टिकरण आवश्यक रहेको विज्ञहरुको भनाई छ ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. निर्मल लामिछाने क्यान्सरका सबै जसो साधारण उपचार यहाँ गरिने भए पनि विशिष्टिकरण गर्न नसकिएको बताउनुहुन्छ । उहाँका अनुसार उच्च तहको प्रिसिसन ९एचभअष्कष्यल० रेडियो थेरापी गर्न सकिएको छैन । रोबटिक सर्जरी र बोनम्यारो प्रत्यारोपण जस्ता सेवा नेपालमा सहज उपलब्ध गराउनु पर्ने उहाँको भनाई छ ।
युरोलोजिष्ट (मूत्ररोग विशेषज्ञ) समेत रहनु भएका डा. लामिछाने जनशक्ति उत्पादन सहज हुन नसक्दा समस्या भएको धारणा राख्नुहुन्छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) बाहेक अन्यत्र क्यान्सरका विज्ञ जनशक्ति उत्पादन भएको भन्दै उहाँले यस अस्पताललाई प्राज्ञिक थलो बनाउन सकिने उहाँको भनाई छ । यहाँ रहेका २२ जना भन्दा बढी विज्ञ चिकित्सकहरुलाई तालिम दिएर प्राध्यापकका रुपमा काम लिन सकिने लामिछाने बताउनुहुन्छ ।
समयमै क्यान्सरका जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । नर्सिङदेखि डिएमसम्मका क्यान्सरका जनशक्ति उत्पादन गर्न सकेमा उपचारमा सहज हुने उहाँको भनाई छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम यस अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरेर दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्न सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो “प्रशस्त जनशक्ति उत्पाद न गर्न सके गाउँगाउँमा क्यान्सर पहिचान गर्न सहज हुन्छ ।”
अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. विजयचन्द्र न्यौपाने अस्पतालमा नर्सिङको पढाई शुरु भएको भन्दै थप शैक्षिक कार्यक्रमहरु ल्याएर नेपालकै नमूना प्रतिष्ठान बनाउन सकिने बताउनुहुन्छ । यहाँ रहेको पर्याप्त भौतिक पूर्वाधारसँगै जनशक्तिले प्रतिष्ठान सञ्चालन गर्न कुनै समस्या नरहेको उहाँको भनाई छ । नेपालका ५० प्रतिशत क्यान्सरका रोगीहरु उपचारका लागि विदेश जाने गरेका छन् ।
समयमा उपचार गरे निको हुन्छ क्यान्सर
विज्ञहरुले समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने बताएका छन् । खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिने उनीहरुको भनाई छ ।
खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिने उनीहरुको सुझाव छ । विश्वमा वर्षेनी १ करोड ४० लाख मानिसमा क्यान्सर देखिने गरेको तथ्यांक छ । विश्वमा एक वर्षमा ७६ लाखभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारण हुने जनाईएको छ । नेपालमा हरेक वर्ष १ लाखभन्दा बढी क्यान्सर हुने गरेको अनुमान गरिएको छ । ८० दशमलव ९ प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बाशयको क्यान्सरका बिरामी धेरै हुने गरेका छन् ।
कार्यकारी निर्देशक डा. गौतम कतिपय क्यान्सरका रोगहरु आफै परीक्षण गर्न सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो “आफैले छामेर वा लक्षणहरु हेरेर क्यान्सर हो, होइन पत्ता लगाउन सकिन्छ ।” गौतमका अनुसार शरीरमा गिर्खा, गाँठागुटीहरु देखिनु, कोठी, मुसाहरुको रंग बदलिनु वा आकार बढ्दै जानु, लामो समयसम्म खोकी निको नहुनु, खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु क्यान्सरका लक्षण हुन् । यस्तै खकारमा रगत देखा पर्नु वा लामो समयसम्म खोकी निको नहुनु, लामो समयसम्म दिसामा गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु पनि क्यान्सरको लक्षणहरु हुन् ।
महिलाहरुमा महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तश्राव हुनु वा महिनावारीको समयपछि रक्तश्राव हुनु, स्तनमा गाँठागुठीहरु देखिनु, मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु क्यान्सरका लक्षणहरु भएको डा.गौतमको भनाई छ ।
यसैगरी छोटो समयमै शरीरको वजन घट्नु, रक्तअल्पता देखिनु, ज्वरो आईरहनु, नाक, मुख, शरीरका अन्य छिद्रहरुबाट रगत आउनु पनि क्यान्सरका लक्षण भएको गौतमले जानकारी दिनुभयो । यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल आउन पनि उहाँले सुझाव दिनुभयो ।
अस्पतालका अध्यक्ष डा. लामिछाने मानिसहरुले व्यक्तिगत सरसफाई र खानपानमा विशेष ध्यान दिन सके क्यान्सर रोगबाट बच्न सकिने बताउनुभयो । उहाँका अनुसार चुरोट, बिडी, खैनी, सूर्ती, जाँड, रक्सी र लागू पदार्थ सेवन नगर्ने, बासी, सडेगलेको र ढुसी परेको खानाहरु नखाने, पोलेर डढेको मासु र अन्य खानेकुराहरु नखाने गर्दा पनि क्यान्सरबाट बच्न सकिन्छ ।
यसैगरी अखाद्य रंग प्रयोग गरिएका खानेकुराहरु नखान, चिल्लो बोसोयुक्त खानेकुराहरु र धेरै नुन नखान, आफ्नो गुप्ताङ्ग सधैं सफा राख्न, मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खान उहाँले सुझाव दिनुभयो । महिलाहरुले आफ्नो गर्भाशय श्राव परीक्षण प्रत्येक वर्ष गर्ने हो भने पनि क्यान्सरबाट बच्न सकिने उहाँको सुझाव छ ।
यस्तै महिलाहरुले स्तनमा गिर्खा, गाँठागुठी पलाएको छ–छैन प्रत्येक महिना आफैले राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीको परामर्श लिने गर्न सके स्तन क्यान्सरबाट बच्न सकिने डा. लामिछाने बताउनुहुन्छ ।
अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. आचार्य रोगका विषयमा जनचेतना जगाउन नसकिएको स्वीकार्नुहुन्छ । उहाँले भन्नुभयो “सबैभन्दा पहिले क्यान्सरबारे सचेतना फैलाउनु प¥यो । जसले रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।” मानिसले समयमै थाहा पाएमा उपचारबाट निको हुन सक्ने भएकाले आम नागरिकसम्म यस रोगका बारेमा जनचेतना जगाउनु पर्ने उहाँको भनाई छ । छिटो उपचार गर्न सकेमा निको हुने र खर्च कम लाग्ने उहाँको भनाई छ ।
अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्मा क्यान्सर समयमानै पत्ता लगाएर उपचार गर्ने हो भने क्यान्सर पूर्णरूपमा निको हुने बताउनुहुन्छ । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उहाँको भनाई छ ।
करिब एक तिहाई क्यान्सर स्वच्छ खानपिन र आहार बिहारबाट रोक्न सकिने बताउँदै उहाँले भन्नुभयो “एकतिहाई क्यान्सरको शुरुकै अवस्थामा उपचार गरेर निको पार्न सकिन्छ । बाँकी एक तिहाई क्यान्सर रोग निको नहुने खालका हुन्छन् । त्यसलाई पनि विभिन्न खालका उपचारबाट बाच्ने बेलासम्मका लागि जीवनउपयोगी बनाउन र मानवीय जीवन जिउन सक्ने बनाउन सकिन्छ ।”
पछिल्लो अध्ययन अनुसार मानिसमा हुने क्यान्सरहरू एक सयभन्दा बढी प्रकारका छन् । तर त्यसमध्ये केही क्यान्सर भने अत्यधिक मात्रामा मानिसमा हुने गरेको पाइन्छ । यो रोग मानव शरीरको कुनै पनि अंगमा हुन सक्दछ ।
अस्पतालको वार्षिकोत्सव तथा सतर्कता दिवस
भरतपुरमा रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल आज २० वर्ष पूरा गरी २१ वर्ष प्रवेश गरेको छ । मित्र राष्ट्र चीनको सहयोगमा स्थापित यो अस्पतालमा हाल ४ सय ५० शैया रहेका छन् । अस्पतालले आज विभिन्न कार्यक्रमको आयोजना गरी अस्पतालको वार्षिकोत्सव तथा सतर्कता दिवस मनाउँदैछ ।
कोरोना संक्रमणका कारण जुम मार्फत् स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा कार्यक्रम गरिंदैछ । यस अस्पतालको स्थापना दिवसलाई नै सरकारले क्यान्सर सतर्कता दिवसका रुपमा मनाउँदै आएको छ ।
अस्पतालमा गत आर्थिक वर्षमा ४ हजार ८९४ नयाँ क्यान्सरका रोगीको उपचार गरिएको छ । अस्पतालको तथ्यांक अनुसार गत आवमा १ लाख ४५ हजार ७७६ जनाको बहिरंग सेवामा उपचार गरिएको छ । जसमध्ये ३२ हजार ८३१ नयाँ हुन् । अस्पतालले ३ हजार ९३९ जनाको शल्यक्रिया गरेको जनाएको छ ।
अस्पतालले एक वर्षमा रक्तक्यान्सरका बिरामीहरुलाई म्याक्स फाउण्डेशनबाट प्राप्त रु.२० करोड १९ लाखको औषधि निःशुल्क वितरण गरेको छ । यसैगरी विपन्नलाई १६ करोड र क्यान्सर सेवामार्फत् रु. ५२ लाखको औषधि वितरण गरिएको छ । ७० वर्षमाथिकालाई निःशुल्क सेवा वापत रु. १६ लाख ९६ हजार ३३५ र १५ वर्ष मुनिकालाई रु.१ करोड ६७ लाख ४१ हजार ४९७ बराबरको उपचार निःशुल्क गरिएको छ ।