चितवनः दुर्लभ एकसिंगे गैंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनहरुमा गैंडा संरक्षणमा चुनौती थपिएको स्वीकार्नुहुन्छ । उहाँको भनाईमा चोरीशिकार पुनः संक्रिय हुने संकेत देखिएको छ । गैडा मानव वस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीय तार लगायतका प्रतिशोधात्मक भावना समस्या बन्दै गएको छ । उहाँले भन्नुभयो “निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्यान्न बालीका कारण गैंडा आकर्षित हुँदा समस्या भएको छ ।”

मध्यवर्ती क्षेत्रमा बाली प्रणाली नै परिवर्तन गर्न सकेमा संरक्षणमा टेवा पुग्ने उहाँको भनाई छ । गैंडाको प्रमुख बासस्थान क्षेत्रमा अतिक्रमण बढेको भन्दै उहाँले भन्नुभयो “जसले अतिक्रमण ग¥यो उनीहरुको आर्थिक र शैक्षिक अवस्था कमजोर हुँदा निकुञ्जमा मात्रै केन्द्रीत हुनु पर्दा संरक्षणमा चुनौती थपिएको छ ।”

उनीहरुलाई वैकल्पिक पेशाको व्यवस्थापन गर्न सकेमा संरक्षणमा सहयोग पुग्ने बरालको भनाई छ । राजनीतिक रुपमा प्रतिबद्धता बोलीमा भए पनि व्यवहारमा नहुँदा संरक्षणमा थप जटिलता आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “जनप्रतिनिधिले नबुझेको वा नबुझेजस्तो गरेका कारण संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।” जसले गर्दा कर्मचारीको मनोबल गिर्ने गरेको र चुनौती मोल्दै गर्दा हुने जोखिम व्यक्तिगत रुपमा झेल्नुपर्ने बाध्यता आएको बरालको ठम्याई छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरुलाई संरक्षणप्रति उत्तरदायी बनाउन सके संरक्षणमा सहयोग पुग्ने उहाँको भनाई छ ।

लामो समय गैंडा संरक्षणमा खर्चिनु भएका निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर विगतको इतिहासलाई हेर्दा प्रत्येक १०÷१० वर्षमा चोरी शिकारी बढ्ने गरेको तथ्यांकले देखाएको बताउनुहुन्छ । उहाँका अनुसार सन् १९७० देखि ८० को दशक चोरी शिकारी कम भएको भए पनि त्यसपछिको दशक चोरीशिकार बढी भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी ८० को दशकमा चोरीशिकार बढेको ९० दशकमा घटेको, सन् २००० को दशकमा बढेको र सन् २०१० को दशकमा कमी आएको भन्दै उहाँले सन् २०२० को दशक चोरीशिकारी बढ्न सक्नेतर्फ सचेत गराउनुभयो ।

तस्करहरुले निकुञ्ज सुरक्षा व्यवस्थाको रणनीतिका बारेमा थाहा पाईसकेकाले नयाँ रणनीतिका साथ आउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ । सरकारी निकाय सुस्ताउँदै गर्दा तस्करहरु सक्रिय हुने गरेको तथ्यलाई ख्याल गर्दै काम गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो “यो दशकमा गैंडा जोगाउन सरकारी निकायले जनता, सञ्चारमाध्यम लगायतसँग सहकार्य गरेर समयमै अघि बढ्नु पर्छ ।” उहाँले थप्नुभयो “उनीहरु नयाँ ढंगले आउन सक्छन् ।”

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना सबैको साथ र सहयोग बिना गैंडा संरक्षण सम्भव नहुने बताउनुहुन्छ । राजनीतिक तहमा नेतृत्व र जनप्रतिनिधि रहेकाहरु सबैलाई संरक्षणको बारेमा बुझाएर आम जनतालाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “संरक्षणमा लागेका बाहेकका राजनीतिक नेतृत्वलाई बुझाउन पर्ने देखिएको छ ।” पहिलो प्राथमिकता मानिस हो भने वन्यजन्तुका कारण मानिसले पाएका लाभ र यसको अन्तर्राष्ट्रिय महत्वका विषयमा पनि नजरअन्दाज गर्न नमिल्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो “वन्यजन्तुका कारण आहार मात्रै होइन, राहत पनि पाएका छौं ।”

आर्थिक अभावका कारण चोरीशिकारमा निम्न वर्गलाई प्रयोग गरिएको भन्दै उहाँले त्यो वर्गको आर्थिक उत्थानमा लाग्नुपर्ने बताउनुभयो ।

द्वन्द्वको समयमा निकुञ्जमा सबैभन्दा बढी चोरीशिकारी भएको थियो । सन् २००२ मा एकै वर्षमा सबैभन्दा बढी ३७ वटा गैंडा चोरीशिकारीले मारेका थिए ।

पछिल्ला वर्षहरुमा चोरीशिकारीको संख्या घट्दै आएको भए पनि चुनौती भने यथावत रहेको छ । झण्डै चार वर्ष पछि गत भदौ २३ गते तस्करले गैंडा मारेका थिए । उक्त घटनापछि निकुञ्ज सुरक्षामा थप कडाई गरिएको छ ।
गैंडा मारेको मुद्धामा अधिकतम सजाय १५ वर्ष कैद र १० लाख जरिवाना वा दुबै हुने व्यवस्था छ । संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका एक सय जना भन्दा वढि छन् । तिनीहरु निकुञ्ज आसपास क्षेत्र संगै पोखरा, काठमाडौं लगाएतका ठाउँका हुन् । अरु मुद्धाको समेत गरेर यो संख्या १ सय ५० भन्दा बढी छ ।

यस अघि गैंडा मारेको अभियोग लागेर कारागारमा लागेकाहरु पछिल्ला दिनहरुमा छुट्ने क्रम बढ्दो छ । उनीहरु पुनः सक्रिय हुन सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । यससँगै संरक्षणका लागि निकुञ्जले घाँसे मैदान र पानीको व्यवस्थापन गरिरहेको छ । सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ गैंडा रहेकोमा यस निकुञ्जमा ६०५ गैंडा रहेका थिए । गत आर्थिक वर्षमा पुनः गणना गर्ने भनिए पनि कोरोना संक्रमणका कारण रोकिएको छ ।

बि.सं. २०७४ को बाढीमा राप्ती र नारायणी नदीले गैंडा बगाएर भारत पु¥याएका थिए । केही उद्धार गरी ल्याईएको भए पनि बाढीले कति बगायो भन्ने एकिन हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैंडाका लागि प्रख्यात छ । गैंडा हेर्नकै लागि वर्षेनी ठूलो संख्या स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !