चितवनः भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालयहरु डुवानमा परेका छन् । नारायणी लिफ्ट सिंचाई आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकि डुवान हुन पुगेका हुन ।
झण्डै एक साता यता नियमित परेका वर्षात संगै यहाँका अधिकांश सरकारी कार्यालय डुवानमा परेका छन् । कार्यालयमा सेवा लिन जाने सेवाग्राही र कर्मचारीले सडकमानै जुत्ता खोलेर, पाईन्ट माथि सारेर कार्यालय जानुपर्ने बाध्यता रहेको छ । यहाँका डिभिजन सडक कार्यालय भरतपुर, डिभिजन वन कार्यालय चितवन, खानेपानी व्यवस्थापन वोड, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाइ, जिल्ला प्रहरी कार्यालय, कारागार कार्यालय चितवन लगाएतका कार्यालयहरु डुवानमा परेका हुन ।
जिल्ला समन्वय समितिको मातहतमा रहेको गेष्टहाउस चौर एक महिना भन्दा वढि समय देखि जलमंग्न भएको छ । यी सबै कार्यालय भरतपुर महानगरपालिका वडा नम्बर १० मा पर्दछ । वडा अध्यक्ष अरुणपिडित भण्डारीले पानीको निकास नभएकाले कार्यालयहरु डुवानमा परेको बताउनुभयो । आँफुहरु निर्वाचित हुनु अघिनै जनप्रतिनिधिहरुले नहर पुरेको उहाँको भनाई छ ।
भण्डारीले वाईपास सडक र पूर्बपश्चिम राजमार्गमा ठूलो ढल वनाएर सोही ढलमा यस क्षेत्रको पानी मिसाउने गरि आँफुले दिर्घकालिन योजना वनाएको बताउनुभयो । भण्डारीले नहर मिचेर सडक वनाएकै कारण डुवान भएको आरोप लाग्ने गरेको छ । तर उहाँले आँफु आउनु अघिनै नहर मिचिएको दावि गर्नुभयो ।
जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीले गेष्टहाउस चौरलाई भने पुर्ने योजना आफ्नो रहेको जानकारी दिनुभयो । उहाँले भरतपुर क्षेत्रमा रहेका सरकारी कार्यालय डुवान नहुने गरि योजना वनाउनु पर्ने बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस अघिनै नहरहरु मिचिएकाले पानीले निकाश नपाएको बताउनुभयो । उहाँले भन्नुभयो “वृहत छलफल गरेर दिर्घकालिन समाधानका लागि महानगरले काम गर्छ ।” तत्कालका लागि गर्नुपर्ने कामका लागि महानगर तयार रहेको उहाँको भनाई छ । अधिक वर्षाका कारण पनि पानीले निकाश नपाएको हो ।
नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई. खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत् आउने नहर पूरै मासिएको छ । भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ । यसै क्षेत्रमा सरकारी कार्यालयहरु रहेका छन् । पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्चि सडक, भवन जस्ता संरचना बनेका छन् । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुवानमा परेको उहाँले बताउनुभयो ।