
चितवनः लकडाउन र निषेधाज्ञाका कारण वन्द रहेका सौराहाका होटल बिहिबारबाट संञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेबाट होटल खोल्न दिने निर्णय गरे संगै यहाँका व्यवसायीले तयारी थालेका हुन ।
चैत ११ गतेबाट वन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महिनाको २८ गतेबाट पुनः वन्द भएका थिए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भए संगै आजबाट तयारी थालिएको छ । कर्मचारी वोलाएर होटलहरुले सरसफाई संगै आबश्यक व्यवस्थापन गर्न थालेको उहाँले जानकारी दिनुभयो । होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसंग अनुमतिका लागि अनुरोध गरिएको उहाँको भनाई छ ।
दशैंको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा सुरु गर्ने तयारीमा व्यवसायी रहेका छन् । संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरी वन्द हुने होकी भन्ने डरका कारण सिमित सेवा दिएर होटल खुल्ने जानकारी दिनुभयो । बिहिबारबाट क्रमश होटल खुल्दै जाने उहाँको अनुमान छ । सबै होटलका कर्मचारी बिदामा छन् । सुरक्षा गाडले होटल कुरेको अबस्था छ ।
रेष्टूरेन्ट एण्ड वार एसोसिएशन (रेवान) सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टूरेन्टहरु क्रमश बिहिबारबाट खुल्ने छन् । उहाँले भन्नुभयो “सेवा सुरु गछौं । क्रमश थप रेष्टूरेन्ट खुल्दै जान्छन् ।”
चितवन राष्ट्रिय निकुञ्जले हात्ती, डुङ्गा, जिप सफारी, जंगल सफारी लगाएतका पर्यटकीय गतिबिधि सबै रोकेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले होटलहरु खुले संगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आबश्यक प्रकृया अघि वढाईने बताउनुभयो । डुृङ्गाका लागि पहिलो पटकको वोलपत्रमा निवेदन नपरेको भन्दै उहाँले पुनः वोलपत्र आव्हान गरिने जानकारी दिनुभयो ।
निकुञ्ज भित्र जिप सफारीका लागि बाटो वनाउने काम भईरहेको उहाँको भनाई छ । वरालले भन्नुभयो “सबै तिर सहज हुँदै गर्दा निकुञ्जले पर्यटकीय गतिबिधि रोक्दैन ।”
सौराहामा १ सय १० होटल रहेका छन् । यसै गरि साना ठूला १ सय हाराहारी रेष्टूरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्ष रुपमा ५ हजार ५ सयभन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।