
काठमााडौः श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले २० वर्षपछि पक्राउ गरी कानुनी कारबाही थालेको छ ।
दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) लाई श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो ।
घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् ।
तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो ।
त्यसपछि उनी फरार थिए । उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौं बुझाएको थियो ।
उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ । रासस