काठमाडौः सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएकामध्ये ९ जनाको शव भेटिएको छ । नागपुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पा, विक गाउँका २३ वर्षीया जुनुमाया विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय बालक सन्देश विक, ४० वर्षीया सर्किनी नेवारको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ६५ वर्षीय धनलाल नेवार, ६० वर्षीया हीरामाया नेवार र ४२ वर्षीया ज्ञानुमाया प्रधानको पनि शव फेला परेको छ ।

पहिरोमा पुरिएकामध्ये अझै २२ जना बेपत्ता छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा उद्धार कार्यमा खटिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस !