चितवनः कोरोना संक्रमण समुदायमा फैलिरहेको समयमा संक्रमण बिरुद्ध अघिल्लो मोर्चामा लड्ने स्वास्थ्यकर्मीहरु पनि अछुतो रहन सकेनन् । जसका कारण दैनिक जसो स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।
कोरोना संक्रमण देखिएर आफ्नै घरमा बसिरहेका स्वास्थ्य कर्मीलाई समाजबाटै समेत अपमान हुने गरेका कुराहरु बाहिर आउन थालेका छन् । यस्तै अपमानको र अभद्र व्यवहारको शिकार वन्न पुग्नु भएको छ बालरोग बिशेषज्ञ तथा रत्ननगर वकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु वगाले पर्नु भएको छ । उहाँलाई कोरोना संक्रमण देखिए पछि उहाँ बस्दै आउनु भएका भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सहितको समुहले अभद्र व्यवहार गरेको हुन ।
बगालेलाई गत सोमबार कोरोना पुष्टि भएको थियो । उनीसँगै श्रीमतीलाई पनि कोरोना देखिएको छ। बगाले दम्पतीलाई कोरोना पुष्टि भए पनि कुनै लक्षण देखिएको छैन। त्यसैले उहाँहरु गत तीन दिनदेखि होम आइसोलेसनमै हुनुहुन्छ । सँगै रहेका छोराको भने कोरोना नेगेटिभ आएपछि उनीहरु छुट्टाछुट्टै होम आइसोलेसनमा छन्।
उहाँले भन्न्ुभयो “सोमबार बेलुकातिर कोरोना पुष्टि भएपछि हामी घरमै आइसोलेसनमा छौं। हामी कतै पनि गएका छैनौं। सतर्कता अपनाएरै घरमा आइसोलेसनमा छौं।”
तर शुक्रबार बिहान भने उनीसँग अचम्मको घटना घट्यो। बिहान साढे ७ बजेतिर उहाँलाई फोन आयो। फोनमा उनलाई बाहिर निस्कन भनियो। उनको घरमा भरतपुर वडा नं ४ का वडाध्यक्ष हरिहर आयार्चको नेतृत्वमा टोल सुधार समितिका केही मानिसहरु आएका रहेछन्।
उनीहरुको हातमा ब्यानर थियो र ब्यानरमा लेखिएको थियो, ‘कोरोना संक्रमितको घर।’ उनीहरु कोरोना सर्न सक्ने भन्दै सचेत गराउन ब्यानर टाँस्न आएको डा बगालेले बताउनुभयो।
उहाँ भन्नुहुन्छ “तपाईं बाहिर निस्कन पर्यो भन्दै मलाई बिहानै फोन आयो। वडा अध्यक्षको नेतृत्वमा मेरो घरमा ब्यानर टाँस्न पो आउनु भएको रहेछ। यो देखेर म त अचम्ममा परें।”
आफूले प्रतिवाद गरेपछि मात्र उनीहरु फर्किएको उहाँले बताउनुभयो । “हामी दिनरात बिरामीको उपचारमा खटिरहेका छौं।’ उनले भने, ‘हामीलाई हौसला दिनुको साटो झन् समाजकै जान्ने बुझ्ने मान्छेले यस्तो व्यवहार गर्छन्।”
बकुलहर रत्ननगर अस्पतालका अन्य स्वास्थ्यकर्मीहरुमाथि पनि दुव्र्यवहार भएको उहाँले बताउनुभयो।