
चितवनः चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्धार सौराहाका होटल बिहिबारबाट खुले संगै चहलपहल सुरु भएको छ । होटलहरुमा पर्यटक आउन सुरु गरेका छन् भने रेष्टूरेन्टमा ग्राहक देखिन थालेका छन् ।
जंङ्गल वाईल्डलाईफ क्याम्पका संञ्चालक नारायण भट्टरार्ईले होटल खुलेकै दिन दुई विदेशी पर्यटक आएको बताउनुभयो । होटलको सरसफाई, मर्मत सम्भार संगै उच्च साबधानीका साथ पाहुनाको स्वागतमा व्यवसायी जुटेको क्षेत्रीय होटल संघका पूर्ब अध्यक्ष समेत रहनु भएका भट्टरार्ईले जानकारी दिनुभयो ।
जङ्गल सफारी लजमा पनि आज तीनवटा कोठा बुकिङ्ग भएको संञ्चालक सुमन घिमिरेले बताउनुभयो । संघका निवर्तमान अध्यक्ष घिमिरेले होटल खुले संगै बिहिबारबाट चहलपहल वढेको बताउनुभयो । स्थानीय र आसपासका क्षेत्रबाट चार महिना पछि खुलेको सौराहा हेर्न मानिसहरु आएको उहाँले जानकारी दिनुभयो । सौराहामा १ सय १० होटल संञ्चालनमा रहेका छन् ।
घिमिरेले भन्नुभयो “यो सिजन नभए पनि लामो समय पछि होटल खुल्दा व्यवसायीहरु आशाबादी भएका छन् ।” होटललाई पूर्बबत अबस्थामा फर्काउन सस्तो र आकर्षक प्याकेजहरुको निर्माणमा साझा रुपमा र एकल व्यवसायीहरु जुटिरहेको उहाँले जानकारी दिनुभयो ।
संघका अध्यक्ष दिपक भट्टरार्ईले स्थानीय कर्मचारीहरुलाई वोलाएर होटल संञ्चालन गरिएको बताउनुभयो । २५ प्रतिशत हाराहारी कर्मचारीले होटल सुरु गरेको उहाँले जानकारी दिनुभयो । क्रमश पर्यटक वढ्दै गए पछि कर्मचारी थप गर्दै लैजाने तयारी गरिएको छ । सौराहामा होटलमा प्रत्यक्ष रुपमा ५ हजार ५ सयभन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । लकडाउन संगै अधिकांश कामदारलाई होटलहरुले छुट्टी दिएका थिए । होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै व्यवसायीहरुले आफ्ना कामदारलाई बोलाएर नियमित काममा लगाउन थालेका हुन् ।
सरकारले साउन १५ गतेबाट देशभरका होटल तथा रेष्टुरा विशेष सावधानी अपनाएर खोल्ने निर्णय गरे संगै सौराहाका होटल खुलेका हुन । होटलले कोभिड–१९ बाट बच्न आवश्यक सूचना टाँस गर्ने, पर्यटकको ज्वरो जाँच, हात धुने र स्यानेटाइजरको व्यवस्था गरेको भट्टराईले जानकारी दिनुभयो ।
दशैं र दशैंपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी थालिएको छ । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध तथा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने विद्यमान अवस्थाका कारण तत्कालै पर्यटक बढ्ने आशा व्यवसायीले गरेका छैनन् । गतवर्षहरुमा पनि यो पर्यटकीय मौषम नभएकाले न्यून पर्यटक मात्र आउने गर्दथे । उहाँका अनुसार गतवर्षहरुमा यतिवेला ३० प्रतिशत हाराहारी मात्र पर्यटक हुने गर्दथे ।
होटल संगै रेष्टूरेन्टहरु पनि खुलेका छन् । रेष्टूरेन्ट एण्ड वार एशोसीयसन (रेवान)का पूर्ब अध्यक्ष गोकर्ण गिरिका अनुसार रेष्टूरेन्टमा ग्राहकहरु आउन थालेका छन् । सौराहामा १ सय हाराहारी रेष्टूरेन्ट छन् । जसमध्ये ५६ वटा रेवानका सदस्य हुन । आधा भन्दा वढि रेष्टूरेन्ट खुलेको उहाँले जानकारी दिनुभयो । थोरै कर्मचारीबाट काम थालिएको उहाँको भनाई छ । गिरिले भन्नुभयो “हामीलाई आशा जगाएको छ ।”