चितवन – नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल बन्नेमा ढुक्क हुन माडीबासीलाई आग्रह गरेका छन् । बाढी पहिरोले पुर्याएका क्षतिबारे जानकारी लिन आज (शनिबार) माडी पुगेका दाहालले चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल बन्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।
उनले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने बिषयमा पार्टीभित्र र सरकारसँग बारम्बार छलफल भइरहेको जनाएका छन् । “राष्ट्रिय निकुञ्जमा आकाशे पुल बनाउने परिकल्पना मैले तपाईहरु माझ राखेको हो उनले भने, म त्यसमा पार्टी भित्र र सरकारसँग पनि लगातार छलफल गरिरहेको छु ।”
दाहालले आकाशे पुल बारे अध्ययन र डिपीआरका लागि एक करोड छुट्याइएको स्पष्ट परेका छन् । अध्ययन र डिपीआरका लागि ५० लाख छुट्याइएको भन्ने हल्ला भए पनि एक करोड छुट्याइएको उनले बताए । उनले भने, “तपाईहरुले ५० लाख भन्नुभयो, ५० लाख होइन, अध्ययन र डिपीआरका लागि एक करोड छुट्याइएको छ ।”
अध्ययन र डिपीआरका लागि एक करोड छुट्याइएकोले काम अघी बढ्ने निश्चित भएको उनको भनाई छ । उनले आकाशे पुल माडीका जनताको लागि दिर्घकालिन महत्वको योजना भएको पनि बताएका छन् ।