चितवन – चितवनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ५० बर्षीय पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा आज (शनिबार) बिहान मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका ७ का ब्यक्तीको शव सेनाले व्यवस्थापन गरेको हो ।
बिहान ७ बजे मृत्यु भएका पुरुषको शव भरतपुर महानगरपालिका १ स्थित बागीश्वरी जंगलमा गाडिएको हो ।चितवन मेडिकल कलेजमा उपचार गराइरहेका फोक्सोको क्यान्सरका पीडित ति ब्यक्तीमा कोरोना पुष्टि भएपछि बिहीबार भरतपुर अस्पतालमा स्थानान्तरण गरिएको थियो । अस्पताल ल्याउदा नै उनको स्वास्थ्य अवस्था जटिल थियो । श्वासप्रश्वासमा समस्या भएपछि हिजो नै कोभिड आइसोलेसनबाट आइसियुमा सारिएकोमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।