
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको भात भान्छामा प्रयोग हुने बेसार, अदुवाजस्ता औषधीय गुणका चिजहरूको मजाक उडाउन नपर्ने बताउनुभएको छ ।
कोरोना भाइरससँग जुध्न बेसार उपयोगी हुने र यसले रोगप्रतिरोधी क्षमता बढाउने भन्दा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको थियो । बेसारपानी लगायत घरेलु औषधिले कोरोना ठीक नहुने भन्दै चिकित्सकहरूले पनि प्रधानमन्त्रीले बुझेर सल्लाह दिनुपर्ने बताएका थिए । युवाहरूले बेसार दलेर प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतीकात्मक विरोध प्रदर्शन समेत गरेका थिए ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा ‘राष्ट्रिय योग अभ्यासक्रम’को विमोचन गर्दै बेसार, अदुवा, ज्वानो, मेथी, लसुन आदि भान्छामा प्रयोग हुने पदार्थमा औषधीय गुण हुने दोहोर्याउनुभएको हो ।
“नेपालीहरूका भान्छामा अनेक औषधीय तत्त्वको प्रयोग गर्ने क्रम हजारौं वर्षदेखिको उपयोग र अनुभवमा आधारित छ,” उहाँले भन्नुभयो, “बेसारको अदुवाको उपयोगिताको चर्चा केही बुद्धिजीवीले मजाक उडाए, यसरी मजाक नउडाऊँ ।”
आफ्नो भान्छामा के–के चिज प्रयोग हुन्छ, ती किन प्रयोग गरिन्छ ? वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिन प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेको चर्चा गर्दै हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकासस्थल रहेको बताउनुभयो ।
रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।