चितवनः नारायणगढ–मुग्लिन सडक खण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मत सम्भार हुन सकेको छैन । सो सकड खण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक बिस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए ।
नारायणगढ– मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिब खनालका अनुसार १७ किलोमा ४ देखि ४ दशमलब ५ मिटर फराकीलो ४० मिटर लामो क्षेत्र धसिएको छ । सो ठाउँमा सडक ९ मिटर फराकिलो छ । त्यसैगरी २६ किलोमा ६ दशमलब ५ मिटर फराकिलो सडक ७० मिटर सम्म भासिएको छ ।
यस क्षेत्रमा सडक १२ मिटर फराकिलो रहेको छ । दुबै क्षेत्रमा दुईवर्ष अघि असारमा सडक भासिएको हो । सडक साँघुरो हुँदा सहज दुईतर्फि संञ्चालनमा कठिनाई भएको छ । ती दुबै क्षेत्रमा बि. सं. २०६० सालमा सडक मुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाईएको छ ।
ती क्षेत्रमा तलबाट त्रिशुली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो । सडक बिभागका महानिर्देशक केशब कुमार शर्माले मर्मतका लागि दुई पटक वोलपत्र आव्हान गर्दा समेत कोही पनि नआएको बताउनुभयो । प्राबिधिक रुपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्न सक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ । ठेक्का नपरेपछि यस वर्षको वर्षातमा पनि यत्तीकै सडक सञ्चालन गर्नुपर्ने भएको छ । धसिएको क्षेत्र बढेमा वर्षातको समयमा समस्या आउन सक्ने जनाईएको छ ।
सूचना अधिकारी खनालले भित्तो पट्टीको भागमा सम्याएर ग्राबेल राख्ने काम गरिएको जानकारी दिनुभयो । जसले गर्दा दोहोरो सवारी साधन आवागमन गर्न सक्ने छ । दुई वर्ष अघि सो सडक बिस्तारको काम गरिएको हो । बर्षातमा पहिरो खस्न रोक्नका लागि भने अहिले पनि काम भईरहेको छ । चार किलो वाहेकका क्षेत्रमा काम सम्पन्न भएको खनालले जानकारी दिनुभयो ।
यस सडक राजधानी भित्रने र वाहिरिने प्रमुख मार्ग हो । जहाँबाट दैनिक १० हजार सवारी साधन आवागमन गर्ने गर्दछन् ।