काठमाडौंः प्रदेश नम्बर ५ ले ३६ अर्बको बजेट ल्याएको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेलले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका छन् ।

उनले कुल विनियोजनमध्ये चालु तर्फ १३ अर्ब १५ करोड ५ लाख अर्थात् ३६ दशमलव ९४ प्रतिशत, पुँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१ दशमलव ०१ प्रतिशत रहेको बताउनुभयो ।

यस्तै वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई सशर्त अनुदान १ अर्ब ३८ करोड ९८ लाख, वित्तीय समानीकरण अनुदान ५० करोड, समपूरक अनुदान १ अर्ब ५० करोड, विशेष अनुदान १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरिएको छ । जुन कुल विनियोजनको १२ दशमलव ०५ प्रतिशत हो ।

बजेटको स्रोत व्यवस्थापन

प्रदेश ५ ले पनि चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको अर्थात् बचत भएको ५ अर्ब आगामी आर्थिक वर्षका लागि स्रोत व्यवस्थामानमा छुट्याएको छ । बजेटको अन्य स्रोतमा आन्तरिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख तथा रोयल्टी बाँडफँडबाट ३० करोड व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, समपूरक अनुदानबाट ६० करोड र विशेष अनुदानबाट ५० करोड स्रोत व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !