चितवनः माडी नगरपालिकाले कोरोना संक्रमणको समयमा छिमेकी देशबाट आएर क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन सुरु गरेको छ । आईतबार पहिलो दिन आधारभूत बिद्यालय गोविन्दबस्तिको क्वारेन्टिनमा रहेका २४ जना र त्यही व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा कर्मी गरेर ३१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि भरतपुर कोभिड १९ प्रयोगशाला पठाईएको नगरपालिकाका सूचना अधिकारी प्रबिण भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल माडी नगरपालिकाका चारवटा क्वारेन्टिनमा १ सय ५३ जना रहेका छन् । उनीहरुको क्वारेन्टिन अबधि अनुसार स्वाब संकलन गरि परिक्षणका लागि पठाईने उहाँले बताउनुभयो । माडीको सोमेश्वर माविको क्वारेन्टिइनमा बसेका ७० जना,माडी क्याम्पसमा १० जना, दिवाकर स्मृति बिद्यालयमा ४९ जना र आधारभूत बिद्यालय गोविन्दबस्तीमा २४ जना रहेका छन् ।
यस नगरपालिकामा १२ वटा क्वारेन्टिन रहेको छ । नगरपालिकाले नमुना संकलन गरि परिक्षणका लागि किट समेत आँफैले व्यवस्था गर्ने गरि बजेट समेत बिनियोजन गरिसकेको छ । यस अघि माडीका क्वारेन्टिनबाट ३४ जनाले समयअबधि पुरा गरि फर्किएको उहाँले जानकारी दिनुभयो । शनिबार मात्रै माडीमा रक्सौल नाकाबाट २२ जना नगरबासी भित्रिएको कार्यालयले जनाएको छ । उनीहरुलाई माडी माबिको क्वारेन्टिनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !