चितवनः लकडाउनमा सबै घरमा लक हुनु भएको छ । योसँगै आफ्ना सवारी पनि घरमै थन्किएका छन् । तर थन्किएका सवारीलाई समय समयमा स्टार्ट नगर्दा सवारीको इञ्जिन पनि लक हुने सम्भावना हुन्छ ।
विज्ञहरुले कम्तीमा हप्तामा एक पटक १० देखि १५ मिनेट सवारीलाई स्टाट गरेर राख्न सुझाव दिएका छन् ।
देशभरका तराई, भित्री मधेश र पहाडी बजार क्षेत्रमा अधिकांश घरमा दुई वा चार पाङ्ग्रे सवारी साधन छन् । यसका अतिरिक्त उद्योग, कलकारखाना, प्रतिष्ठान, निर्माण कम्पनीहरुहरुमा यति बेला सवारीसाधन थन्किएर बसेका छन् । अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा आएका छैनन् । ती सवारीको ख्याल नगर्दा ठूलो नोक्सान हुने विज्ञहरु बताउँछन् ।
सडक विभागका मेकानिकल इञ्जिनियर जीतेन्द्र सिंह हप्तामा एक पटक १० देखि १५ मिनेट सवारीसाधन स्टाट गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “समय समयमा स्टाट गर्दा ब्याट्रि डिस्चार्ज हुँदैन, मोबिलको गुण हराएर जाँदैन, इन्धन पम्प, एयर फिल्टर, इन्धन फिल्टरमा खराबी आउँदैन ।”
लामो समय स्टाट नगरी राख्दा ब्याट्रिसहित इञ्जिनमा क्षति हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “लामो समय सवारीसाधन थन्किँदा इञ्जिनको भल्वमा कार्बन जम्ने, सवारी स्टार्ट गर्न गाह्रो हुने, स्टाट भए पनि लाईनरमा दाग बसेर क्षमता कमजोर हुन्छ ।” यसले इञ्जिन प्रभावित बनाएर पुनः मर्मत गर्नुपर्ने र ब्याट्री काम नलाग्ने अवस्थामा पु¥याउने उहाँले बताउनुभयो ।
घरमा लकडाउनमा बसिरहँदा आफ्नो सवारीको ख्याल गर्न सुझाव दिंदै उहाँले समय समयमा स्टाट गर्न र सरसफाईमा ध्यान दिन पनि आग्रह गर्नुभयो ।