काठमाडौंः कोरोना भाइरसको संक्रमण पत्ता लगाउन अपनाइने र्‍यापिड डाइग्‍नोस्टि टेस्ट (आरडीटी) किटको विश्वसनीयतामा विश्वव्यापी रुपमा प्रश्न उठिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त विवादास्पद विधिको प्रयोगमा रोक लगाउन माग गरेको छ ।

पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरू र स्वास्थ्य क्षेत्रका विज्ञहरूबीच आइतबार सम्पन्न छलफलपछि कांग्रेसले उक्त माग गरेको हो ।
कोरोना भाइरसको परीक्षण समुदाय स्तरसम्म पुर्‍याउनुपर्ने अनिवार्य आवश्यकतामा जोड दिँदै कांग्रेसले विज्ञप्तिमार्फत् भनेको छ, “र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेका बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ र पीसीआरकै क्षमता र दायरा बढाइनुपर्छ ।”

कांग्रेसले कोरोना भाइरस महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई पीपीईलगायतका सामग्री अझै पनि नपुगेको स्थिति स्मरण गराउँदै तत्काल गुणस्तरीय सामग्री पु¥याएर सरकारले कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी बनाउन जरुरी रहेको आवश्यकता औंल्याएको छ ।

लकडाउनले कोरोनासँग जुध्ने वातावरण निर्माण गरे पनि लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको कांग्रेसको ठहर छ । “सरकारले आवश्यक गति बढाउनुपर्छ,” बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित गर्ने घटनालाई गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि सतर्कता र गम्भीरता अपनाउन सरकारलाई सुझाव पनि दिएको छ ।

कांग्रेसले अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्नेमा जोड दिएको छ । “उपचार कठिनाईसँगै अत्यावश्यक औषधीहरूको अभाव हुँदै जाँदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ, अतः औषधी उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !